Kathmandu Press

केले बिगार्दैछ नयाँ पुस्तालाई ?

आधुनिक जीवनशैलीका कारण अत्याधुनिक सामान, ब्रान्डेड पोसाकका साथै उनीहरूले इच्छाएका उपभोग्य वस्तु खरिद गरिदिएर खुसी तुल्याउनुपर्ने बाध्यता सँगाल्दै अभिभावक उभिनुपर्ने अवस्था स्वाभाविक बन्दै गएको छ।
केले बिगार्दैछ नयाँ पुस्तालाई ?

काठमाडौं, मंसिर १ : ती किशोरी थिइन्, मेरा छिमेकीकी छोरी, भर्खर १४ वर्षमा टेकेकी। किशोर उमेर अर्थात् अनगिन्ती जिज्ञासाले भरिएको उमेर। उनीमा बालसुलभ चञ्चलपन रहलपहल नै देखिन्थ्यो। एकदिन खबर सुनियो, ‘अभिभावकको स्वीकृतिविना नै उनले भागी–विवाह गरिन्।’ 

जोकोहीको मस्तिष्कलाई गहन रूपमा परिशीलन गर्ने घटना थियो यो। निःसन्देह, १४ वर्ष विवाहका लागि परिपक्व उमेर होइन, कानुन अनुसार त निकै सानो उमेर हो। ‘करिअर’ निर्माण गर्ने चक्करमा लागेका अचेलका युवायुवतीले २५ वर्षभन्दा कम उमेरमा विवाह गरेको कमै भेटिन्छ। पूर्ववर्ती समयमा भने अशिक्षित समाजमा चेतनाको न्यूनता र पारिवारिक आवश्यकताबोधजस्ता कारणले १३-१४ वर्ष टेकेपछि अर्थात् प्रथम रजस्वला भएपछि छोरीलाई विवाह गरिदिने आम चलन नै थियो। त्यो समय पहिलोपटक महिनावारी (रजस्वला) भएपछि छोरीलाई विवाह गरिदिनुलाई पुण्य कार्यका रूपमा लिइन्थ्यो। अब भने यस्तो कुभावना सामाजिक चिन्तन एवं व्यवहारको तहबाटै हटिसकेको छ। 

आखिर, उमेरले परिपक्वताको दिशा नपहिल्याउँदै किशोर उमेरमै पारिवारिक रूपमा विद्रोह गरी भागी–विवाह गर्नुले के कुराको संकेत गर्छ ? निर्माणाधीन ‘करिअर’लाई बाधक तुल्याउँदै वैवाहिक सम्बन्धमा बाँधिन किशोरकिशोरी किन उद्यत देखिन्छन् ? यस्ता प्रश्नका कारण खोज्दा सामाजिक-सांस्कृतिक जीवनमा आएको आमूल फेरबदलका साथै सांस्कृतिक क्षेत्रमा देखिएका विसंगत पक्ष र प्रवृत्ति नै मूलतः जिम्मेवार देखिनुमा कुनै शंका छैन। निश्चय नै, पूर्ववर्ती समयमा किशोरकिशोरीहरू अभिभावकको कडा अनुशासनमा रहनुपथ्र्यो। तर, आधुनिक जीवनशैलीका कारण अत्याधुनिक सामान, ब्रान्डेड पोसाकका साथै उनीहरूले इच्छाएका उपभोग्य वस्तु खरिद गरिदिएर खुसी तुल्याउनुपर्ने बाध्यता सँगाल्दै अभिभावक उभिनुपर्ने अवस्था स्वाभाविक बन्दै गएको छ। 

समाजसँग विच्छेद

आजका किशोर–किशोरीलाई आफ्नै घर अझ त्योभन्दा पनि घरको आफ्नै कक्ष सिंगो संसार बन्न पुगेको छ। अत्याधुनिक प्रविधिले लट्ठिएका आजका पुस्तालाई प्रविधिको सरल एवं सहज पहुँचका कारण आफ्नै कक्षभित्र ज्ञान, सूचना, मनोरञ्जन र सम्पर्कका सम्पूर्ण माध्यम उपलब्ध छन्। कुनै गेम खेल्नुप¥यो भने वा कुनै मनपर्ने संगीत-सागरमा डुब्नुपर्‍याे भने वा समकालीनसँग अन्तर्संवाद गर्नुप¥यो भने आफ्नै कक्षमा उपलब्ध हुन्छन्, चौबीसै घण्टा। सञ्चार प्रविधिमा बढ्दो पहुँचसँगै यस्ता सुविधा सहज बन्दै गइरहेका छन्। 

पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को कहरले किशोरकिशोरी मात्र होइनन्, सबै उमेर–समूहका मानिसलाई आफ्नै घरभित्र खुम्च्याइदियो, आफ्नै पर्खालभित्र सीमित तुल्याइदियो। अध्ययनका निम्ति अनलाइन कक्षा, किनमेलका लागि अनलाइन सपिङ- सबै कारोबार कोठाबाटै/घरबाटै। तसर्थ, आम व्यक्तिका साथै किशोरकिशोरीलाई समेत सामाजिक अन्तर्सम्बन्धबाट विच्छेद गराउन र घुलमिल हुनबाट सामाजिक सञ्जालले भूमिका खेलेको थियो नै, पछिल्लो समय कोभिड-१९ जस्ता महामारीले पनि कम भूमिका खेलेन। स्वयंघोषित बन्दी हुन बाध्य तुल्यायो। 

जब बालबालिका, किशोर–किशोरी वा अरू मानिस सामाजिक अन्तर्सम्बन्धबाट टाढिँदै जान्छन्, आफ्नो सांस्कृतिक धरातलबाट अलग्गिँदै जान्छन्, एकल र आत्मकेन्द्रित जीवन जिउँदै जान्छन्, तब निश्चित रूपमा उनीहरू असामाजिक, असांस्कृतिक, असहिष्णु, जिम्मेवारीबोधबाट च्युत र असहयोगी चरित्रमा बदलिँदै जान्छन्। जुन निकै भयावह र कहालीलाग्दो परिदृश्य हो र जसको फन्दामा आज अधिकांश किशोर–किशोरी र युवा पर्दै गइरहेका छन्। 

विज्ञापनको बढ्दो कुप्रभाव

सञ्चारमाध्यमबाट प्रसारित वा प्रकाशित विज्ञापनले आम मानिसका साथै किशोर–किशोरीलाई मूलतः दुइटा पक्षमा प्रभावित पार्छ। एउटा, उपभोग्य सामग्रीप्रतिको बढ्दो लालसा र अर्को आधुनिक खानपिन। भनिरहनुनपर्ला, अतिशयोक्ति रूपमा प्रचारित विभिन्न सामानका विज्ञापनले किशोर–किशोरीको जीवनका आवश्यकता र मापदण्डलाई तय गर्दै आएका छन्। विज्ञापनको अधिक प्रभावले उनीहरूका जीवन जिउने आफ्नै मापदण्ड भत्किँदै गइरहेका छन्। 

कहालीलाग्दो परिदृश्य के छ भने, परम्परागत र जैविक तत्त्व नष्ट नभएका खानेकुराप्रति किशोर–किशोरी हुन् वा त्योभन्दा कम उमेरका बालबालिका, उनीहरूका ध्यान तानिनै छाडेको छ। अचेल उनीहरूका ‘मेनु’मा धेरै क्यालोरीयुक्त खानेकुरा नै पर्छन्। पिज्जा, बर्गरजस्ता पौष्टिक तत्त्व कम भएका खानेकुरा खान पाउँदा प्रफुल्ल हुन्छन्। कोक, पेप्सीजस्ता पेय पदार्थ पिएर आँत तृप्त पार्न चाहन्छन्। यस्ता खाने वा पिउने कुराले उनीहरूका शारीरिक आवश्यकतामा असन्तुलन पैदा गर्दछ। र, युवावस्था टेक्दानटेक्दै विभिन्न रोगले स्वागत गर्न थाल्छन्। विकसित एवं विकासोन्मुख मुलुकका अधिकांश नागरिक युवावस्थामा नटेक्दै मधुमेह, उच्च रक्तचापजस्ता रोगबाट ग्रसित हुन पुग्नुमा असन्तुलित खानपिनको भूमिका रहेको हामी बेला–बेला सुनिरहन्छौं, पढिरहन्छौं। हामी पनि यो व्याधीबाट ग्रस्त बन्दै गइरहेका छौं। 

जसरी जैविक तत्त्वले भरपूर खानेकुराको सेवन गर्दा उनीहरूको शारीरिक, मानसिक अवस्थामा वृद्धि भई सक्रिय जीवनरथले गति समात्छ, त्यति नै जैविक तत्त्व नष्ट भएका खानेकुरा सेवन गर्दा उनीहरू शारीरिक र मानसिक रूपमा सुस्त र कमजोर हुन्छन्। यस्तो हुनु राष्ट्र, समाज र परिवार सबैका निम्ति दुःखद पक्ष हो। 

सामाजिक सञ्जाल र गोमनको विष

सामाजिक सञ्जाल र गोमन सर्पको विष तुलनायोग्य छन्। भनिन्छ, गोमन सर्पको न्युरोटक्सिनलाई परिशोधन गरियो भने औषधि बन्छ, दुरुपयोग भयो भने विष हुन्छ। सामाजिक सञ्जाल पनि अचेल त्यस्तै बन्दै गइरहेको छ, जस्तै गोमनको न्युरोटक्सिन। 

सामाजिक सञ्जालले विश्वका कुना–कुनासम्म फैलिएका नातेदार, आफन्त, साथीभाइ, शुभचिन्तकसँग सहज रूपमा जोडिन, संवाद, विचार–विमर्श आदानप्रदान गर्न उल्लेख्य भूमिका खेल्दै आएकामा विवाद छैन। परिचित मात्र होइनन्, अपरिचितसँग पनि जोडिन र उनीहरूसँग अन्तर्संवाद गर्ने छुट दिएको छ। देश–विदेशमा रहेका साथीसँग प्रत्यक्षतः जोडिएर आफ्ना भावना, विचार र मनोदशालाई बाँडचुँड गर्न सामाजिक सञ्जालले हामीलाई सहजता प्रदान गर्दै आएको छ। 

यद्यपि, सामाजिक सञ्जाललाई सदुपयोग गर्नेभन्दा दुरुपयोग गर्ने प्रवृत्ति पनि उत्तिकै व्याप्त छ। कतै किशोर–किशोरी वा युवायुवतीले यो सञ्जाललाई आफ्ना भावना, कुण्ठा, मनोविकार अभिव्यक्त गर्ने थलो मात्र बनाउँदै छैनन् ? तिनै १४ वर्षीया किशोरी र उनकै समकालीन किशोरबीच भागी विवाह हुनुमा यस्तो प्रश्न पेचिलो रूपमा उठ्नु स्वाभाविकै हो। किनभने, दुवै (किशोर–किशोरी) बीच भावनात्मक संवाद हुने माध्यम नै सामाजिक सञ्जाल बन्न पुगेको थियो। उनीहरूबीच भागी–विवाहको कडी नै बन्न पुगेको थियो, सामाजिक सञ्जाल। 

अभिभावकको जिम्मेवारी कति?

यस्ता प्रकरणमा अभिभावकको जिम्मेवारी कतिसम्म हो र हुनुपर्छ ? यो प्रश्न उठाइनुपर्छ। यद्यपि, कुनै किशोर–किशोरी वा युवा–युवती सामाजिक सञ्जालमा आबद्ध भएपछि उनीहरूले क–कसलाई साथी बनाउँछन्, को–कोसँग उनीहरूको संवाद हुन्छ, यो अभिभावकको पहुँचभन्दा टाढाको विषय हो। अभिभावकले त उनीहरूलाई सामाजिक सञ्जालमा व्यस्त रहने समय कटौती गर्न सुझाव मात्र दिन सक्छन्, केवल। त्यसभन्दा बाहिर उनीहरूको कुनै भूमिका वा नियन्त्रण रहँदैन। 

आफ्ना छोराछोरीहरू घरबाट बाहिर निस्कँदा उनीहरूका अभिभावकले निगरानी राख्न सक्छन् र त्यसो गर्नु सजिलो पनि छ। विकसित मुलुकमा धनाढ्य वर्गका मानिसले आफ्ना छोराछोरीको निगरानी गर्न तलबी मानिस नै खटाएका हुन्छन्। ती मानिसलाई यति गोप्य रूपमा खटाएका हुन्छन् कि, उनीहरूले हरेक गतिविधिको निगरानी गरेर सूचना दिन्छन्। यसले आफ्ना सन्तानको निगरानी राख्न र उनीहरूलाई सही मार्गमा हिँडाउन भूमिका खेल्छ। 

सामाजिक सञ्जाल यस्तो माध्यम बनिदियो कि, जसमा निगरानी राख्ने वा नियन्त्रण गर्ने कुनै बाटो छैन। कुनै किशोर–किशोरीबीच घनीभूत प्रेम–संवाद चलिरहेको छ कि, कुनै प्रस्तावको ओइरो लागिरहेको छ कि वा कुनै गोप्य योजना बनिरहेको छ ? यस्ता विषयमा सामाजिक सञ्जालमा निगरानी राख्न सहज छैन। अभिभावकले पनि सामाजिक सञ्जालमा व्यस्त आफ्ना सन्तानले राम्रै ज्ञान आर्जन गरिरहेका होलान्, राम्रै सूचना बटुलिरहेका होलान्, राम्रै पात्रसँग संवाद गरिरहेका होलान् भन्ने सोच्नुको विकल्प पनि छैन। 

तर, अभिभावकले खासगरी किशोर उमेरका सन्तानलाई यति चाहिँ गर्न सक्छन् र गर्नु पनि पर्छ– आफ्ना सन्तानमा आइरहेको व्यवहार परिवर्तनबारे मनोवैज्ञानिक रूपमा अध्ययन गर्न सक्छन्, उनीहरूसँग आफूलाई शंका लागेका कुरामा सोधपुछ गर्न सक्छन् र मनोपरामर्श दिन पनि सक्छन्। सामाजिक सञ्जालमा लगामविनाको घोडाझैँ छाडिदिनुभन्दा केही हदसम्म चासो राख्दा उनीहरूमाथि निगरानी हुन सक्छ, दबाब बढ्न सक्छ। अर्कोतिर, सहरी जीवन बिताइरहेका अभिभावकमा अति व्यस्तता रहनु स्वाभाविक देखिँदै गएको छ। अभिभावक आफ्नो पेसा–व्यवसायमा व्यस्त रहनुका साथै सामाजिक दायित्वप्रति जिम्मेवार हुँदै समाजका लागि समय दिनुपर्ने बाध्यतामा छन् र उनीहरूले आफ्ना सन्तानलाई कम समय दिने र व्यावहारिक संवाद गर्ने कार्यबाट टाढिँदै गएका छन्। बालबालिका वा किशोर–किशोरी समस्याको चंगुलमा फस्नुमा यस्ता पक्ष समेत कारक बन्न पुगेका छन्। 

सर्वविदितै छ, बालबालिका वा किशोर–किशोरीको पहिलो शिक्षण–संस्था परिवार नै हो। उनीहरूले परिवारकै माध्यमद्वारा आफूलाई सामाजिक–सांस्कृतिक ढाँचामा ढाल्न पुग्छन्। पछिल्लो समय नेपाली समाजको सांस्कृतिक एवं सामाजिक परिदृश्यमा व्यापक परिवर्तन आएको छ। हरेक क्षेत्रमा परिवर्तन एवं सामाजिक उन्नति तीव्र बन्दै गएको छ। तर हामीले झेल्नुपरिरहेको तिखो समस्या भनेको उपभोक्तावादी संस्कृतिको बढ्दो कुप्रभाव हो। जसले हाम्रा सामाजिक तानाबानालाई दैनन्दिन प्रभावित तुल्याइरहेको छ। यसबाट उन्मुक्ति पाउन असम्भवप्रायः देखिन्छ। तर, हामी उपभोक्तावादी संस्कृतिमा कसरी जकडिँदै गइरहेका छौं र यसका बेफाइदा केके हुन् ? यसको लेखाजोखा पारिवारिक तहबाटै भएर आफ्ना सन्तानलाई यो विषयमा पहिलो शिक्षण दिने कार्य भने अभिभावकबाट सम्भव छ। 
 

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्