कसले पाउँछन् कस्ताे पासपोर्ट ?
काठमाडौं, मंसिर १ : सरकारले आज (बधबार) देखि विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट लागु गरेकाे छ। राहदानी विभागले आज त्रिपुरेश्वरस्थित सभाहलमा एक कार्यक्रमबीच पहिलो विद्युतीय...काठमाडौं, मंसिर १ : सरकारले आज (बधबार) देखि विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट लागु गरेकाे छ। राहदानी विभागले आज त्रिपुरेश्वरस्थित सभाहलमा एक कार्यक्रमबीच पहिलो विद्युतीय राहदानी वितरण गरेर ई–पासपोर्ट लागू गरेको हो।
हाल ६ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अबदेखि विद्युतीय (इलेक्ट्रिक) पासपोर्ट दिने व्यवस्था लागु गरेकाे हाे।
बुधबार अपराह्न राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गरेको विभागका निर्देशक शरदराज अरनले जानकारी दिए।
निर्देशक अरनका अनुसार आज परीक्षणका रूपमा मात्र इ–पासपोर्ट सार्वजनिक गरिए पनि केही समय सिमित मानिसका लागि ई–पासपोर्ट जारी गरिनेछ भने मंसिर १५ गतेदेखि पूर्ण रूपमा यसलाई निरन्तरता दिइनेछ।
यो पोलिकार्बोनेटसहितको ई–पासपोर्ट हो। यसमा विद्युतीय चिप र एन्टेना जडान गरिएको हुन्छ। चिपमा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण राखिन्छन्। ती विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न नसक्ने हुने भएकाले पनि ई–पासपोर्ट निकै विश्वासिलो हुने विभागले जनाएको छ।
अहिलेसम्म कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स रेकर्ड बुक, साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी ६ किसिमका राहदानी जारी गर्दै आएकोमा अबदेखि सर्भिस पासपोर्ट थप गरिने विभागले जनाएको छ।
कसले कुन पासपोर्ट पाउँछन्?
कूटनीतिक
सरकारी वा विशेष कामका लागि विदेश भ्रमणमा जाने पदाधिकारीहरूलाई विभागले कूटनीतिक राहदानी जारी गर्छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि तथा राष्ट्रिय सभाका अध्यक्षले यस्तो राहदानी पाउँछन्।
त्यस्तै उपप्रधानमन्त्री, नेपाल सरकारका राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, न्यायपरिषद्का सदस्य, महान्यायधिवक्ता, राष्ट्रियसभामा विपक्षी दलका नेता, प्रदेशसभाका सभामुख, मन्त्रीहरू, प्रतिनिधि तथा राष्ट्रियसभा सदस्य, महावाणिज्यदूत, परराष्ट्र मन्त्रालय र मातहतका विभाग तथा कार्यालयमा कार्यरत राजपत्रांकित अधिकृत कर्मचारी लगायतलाई यस्तो राहदानी जारी गरिन्छ।
नेपाल सरकारका सचिव, नेपाली राजदूत, प्रहरी महानिरीक्षक राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रज्ञाप्रतिष्ठानका उपकुलपति, उपमहानगरपालिका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुखका लागि यस्तो राहदानी जारी गरिन्छ।
संवैधानिक निकाय वा सचिवालयको सिफारिससहित कूटनीतिक राहदानी माग गरे पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वअध्यक्ष, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, व्यवस्थापिका संसदका पूर्वसभामुख तथा पूर्वपरराष्ट्रमन्त्रीका लागि विभागले कूटनीतिक राहदानी जारी गर्छ।
कूटनीतिक राहदानी प्राप्त गर्ने व्यक्तिको कुनै पनि कारण पदबाट अलग भए, पदबाट अलग भएर नेपाल फर्किएको एक महिनाभित्र पासपोर्ट विभागमा फिर्ता गर्नुपर्छ।
विशेष
नेपाल सरकार, प्रदेश सरकार वा कुनै सरकारी निकायबाट मनोनयन भई सरकारी काममा विशेष भ्रमणमा जाने पदाधिकारीहरूलाई विभागले विशेष राहदानी जारी गर्छ।
यस्तो राहदानी नगरपालिका प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, न्यायसेवा आयोगका सदस्य, प्रदेश योजना आयोगका सदस्य लगायतका लागि जारी गरिन्छ।
त्यस्तै काठमाडौं महानगरपालिका बाहेकका महानगरपालिकाका उपप्रमुख, जिल्ला समन्वय समितिका उपप्रमुख, नगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सचिव एवं राजपत्रांकित प्रथम श्रेणी वा सोसरहका अधिकृत, जिल्ला न्यायाधीसका लागि जारी गरिन्छ।
कूटनीतिक राहदानी पाउने पदाधिकारी बाहेकका निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, तथा स्थानीय तहका अधिकृतस्तरका कर्मचारी गाउँपालिकाका उपाध्यक्ष लगायतका लागि विशेष राहदानी जारी गरिन्छ।
राष्ट्र बैंकका डेपुटी गर्भनर, प्रचलित कानुनबमोजिम गठित आयोग, समिति तथा बोर्डका पदाधिकारीहरूका लागि पनि विशेष राहदानी जारी गरिन्छ। सरकारबाट मनोनयन भइ छात्रवृत्तिमा अध्ययन गर्न वा भ्रमण तथा तालिममा सहभागी हुन जाने सरकारी कर्मचारीले समेत यस्तो राहदानी पाउँछन्।
विशेष राहदानी राहदानी प्राप्त गर्ने व्यक्तिको कुनै पनि कारण पदबाट अलग भएमा पदबाट अलग भएर नेपाल फर्किएको एक महिनाभित्र राहदानी विभागमा फिर्ता गर्नुपर्छ।
सर्भिस
अहिले नयाँ थप्न लागिएको यो पासपोर्ट विदेशस्थित नियोगमा खट्न जाने राजदूत, स्थायी प्रतिनिधि, महावाणिज्यदूत वा राजपत्रांकित तहका कर्मचारीका साथ जाने निजी सहयोगी र श्रेणाीबिहीन कर्मचारीले पाउँछन्।
आफ्नो कार्यकाल सकिएपछि त्यस्ता निजी सहयोगी र श्रेणीविहीन कर्मचारीले यो राहदानी विभागमा फिर्ता गर्नुपर्छ।
अस्थायी
विदेशमा रहेकाको राहदानी बहाल अवधि सकिएमा, हराएमा वा झुत्रो भएर प्रयोग गर्न नसकिने अवस्थामा कूटनीतिक नियोगमार्फत यस्तो अस्थायी राहदानी जारी गरिन्छ। यसका लागि आवश्यक काजगतसहित सम्बन्धित नियोगमा निवेदन दिनुपर्छ। नियोगले नौ महिना बहाल रहने गरी अस्थायी राहदानी जारी गर्छ। यो नयाँ राहदानी जारी भएपछि रद्द गरिन्छ।
सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट)
पानीजहाजमा काम गर्न जाने नेपालीलाई विभागले यस्तो किसिमको राहदानी जारी गर्छ। साधारण राहदानी वाहकले पानीजहाजमा काम गर्न जाने प्रयोजनका लागि विभाग वा नियोगमा सिम्यान्स अभिलेख पासपोर्टका लागि आवेदन दिन सक्छन्। आवेदन आएमा तोकिएको सर्तको अधीनमा रही विभागले सिम्यान्स अभिलेख किताब जारी गर्छ। यसको बहाल अवधि निजको सेवाअवधि तथा उमेरलाई विचार गरी बढीमा दस वर्षको हुन्छ।
साधारण (३४ र ६६ पृष्ठ)
विभागले नेपाली नागरिकलाई साधारण राहदानी जारी गर्छ। यो जारी भएको एक वर्षभित्र सम्बन्धित व्यक्तिले लगिसक्नुपर्छ भने नलगेको खण्डमा विभागले रद्द गर्नेछ। पटकपटक बिदेसिनुपर्नेका लागि ६६ पृष्ठको र छोटो अवधिका लागि चाहिनेका लागि ३४ पृष्ठको साधारण राहदानी जारी गरिन्छ।