चितवनमा कर्फ्यू, प्रदर्शन र नाराबाजी गर्न रोक
भरतपुर, भदौ २ : रवि लामिछाने पक्राउको विरोधमा दैनिक प्रदर्शन हुन थालेपछि चितवनमा कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, चितवनले आज भरतपुरको केही ....

भरतपुर, भदौ २ : रवि लामिछाने पक्राउको विरोधमा दैनिक प्रदर्शन हुन थालेपछि चितवनमा कर्फ्यू लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, चितवनले आज भरतपुरको केही क्षेत्रमा कर्फ्यू लगाएको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार, भरतपुरको चौबिसकोठीदेखि मालपोत चोकसम्म कर्फ्यू लगाइएको हो। त्यस क्षेत्रमा प्रदर्शन तथा नाराबाजी गर्न पाइने छैन।
दिनहुँको प्रदर्शन र नाराबाजीले कामकाज गर्न र सर्वसाधारणलाई पनि समस्या भएकाले निषेधाज्ञा जारी गर्नु परेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहले बताए। अस्पताल, अदालतलगायत सरकारी कार्यालय रहेको त्यस क्षेत्रमा सुरक्षा सम्बेदनशिलताका कारण पनि निशेषधाज्ञा लगाउनु परेको उनको भनाइ छ।
चितवनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौंमा पक्राउ गरिएका उनलाई चितवन लगिएको छ।
अनुसन्धानका लागि हिरासतमा रहेका रविलाई रिहा गर्न माग गर्दै उनका समर्थकले दिनहुँ प्रदर्शन गरिरहेका छन्। हिजो प्रहरीसँग झडप समेत भएको थियो।
शालिकरामको होटलमा मृत भेटिएका थिए। उनले रविका कारण आत्महत्या गरेको भन्दै भिडियो बनाएका थिए। त्यो भिडियो सार्वजनिक भएपछि प्रहरीले रविलाई पक्राउ गरेको हो।
शालिकरामको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो। उनको पोस्टमार्टम रिपोट हिजो चितवन पठाएको छ।
प्रहरीले पोस्टमार्टम रिपोट सार्वजनिक गरेको छैन। केही थप प्रमाण फेला परेकाले अनुसन्धान जारी रहेको जनाएको छ।
रविलाई पाँच दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमति दिएको थियो। आज पाँच दिन पूरा भएको छ।
प्रहरीले म्याद थप गर्दा झपड हुनसक्ने आंकलन गरेर निषेधाज्ञा जारी गरेको जनाएको छ।











-1784808429.png)