Kathmandu Press

मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्छ : महासचिव पोखरेल

काठमाडाैं, कात्तिक ३० : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने बताएका छन्।टोखा नगरपालिकाले आज आयोजना गरेको ‘नगर स्मारिका...
मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्छ : महासचिव पोखरेल

काठमाडाैं, कात्तिक ३० : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउनुपर्ने बताएका छन्।

टोखा नगरपालिकाले आज आयोजना गरेको ‘नगर स्मारिका विमोचन, सहयोगीदातालाई सम्मान कार्यक्रम एवं सार्वजनिक सुनुवाइ’ कार्यक्रममा उनले मुलुकमा राजनीतिक मुद्दा सकिएकाले अब देशलाई आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन। 'जनतालाई उत्पादनसँग जोडेर आत्मनिर्भर बनाउनुपर्छ, स्थानीय सरकारले आफ्ना नागरिकलाई रोजगारी दिने वातावरण निर्माण गर्नुपर्छ,' उनले भने।

Hardik ivf

सार्वजनिक सुनुवाइमार्फत जनताको अदालतको कठघरामा जनप्रतिनिधिलाई उभ्याएकोमा उहाँले टोखा नगरपालिकालाई धन्यवाद दिए। वर्तमान गठबन्धनको सरकारले विकास निर्माणको कामलाई अगाडि बढाउन नचाहेको महासचिव पोखरेलले आरोप लगाए। अघिल्लो सरकारले एक हजार ४०० सडक निर्माण र ३०० अस्पताल निर्माण कार्य अघि बढाएको उनको भनाइ थियो। स्थानीय सरकारले निर्वाचनको समयमा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने नेता पोखरेलले बताए। 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको विकासमा जनप्रतिनिधिमात्र नभएर स्थानीयवासीको समेत महत्वपूर्ण भूमिका रहेको बताए। संविधानले कल्पना गरेअनुसार बनेको स्थानीय सरकारले जनताको इच्छा र आकाङ्क्षाअनुसार काम गरेको उनको भनाइ थियो। नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाको विकास र समृद्धिका लागि जनप्रतिनिधि अहोरात्र खटेको बताए। कार्यक्रममा टोखा नगरपालिकाको सम्पूर्ण विवरण समेटिएको ‘हिजो, आज र भोलि’ वृत्तचित्र प्रस्तुत गरिनुका साथै नगरपालिकाको बारेमा निर्माण गरिएको ‘नगर स्मारिका’ विमोचन गरिएको थियो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य राधा ज्ञवाली, बागमती प्रदेशसभा सदस्य दीपक निरौला, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरालगायत सहभागी थिए।

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्