Kathmandu Press

टी-२० सिरिज : कतारमाथि नेपालको शानदार जित

काठमाडौं, कात्तिक ३० : टी-२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ ।नेपालले दिएको...
टी-२० सिरिज : कतारमाथि नेपालको शानदार जित

काठमाडौं, कात्तिक ३० : टी-२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ ।

नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अल आउट भयो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८–८ तथा केरी पाउनसेटले ७ र रिज्फा बानोले ३ रन बनाइन्। नेपालका लागि कप्तान रुविना क्षत्रीले उत्कृष्ट बलिङ गरिन्।

उनले १.५ ओभरमा १ रन मात्र खर्चिएर ३ विकेट लिइन्। यस्तै, कविता कुँवर र सरस्वती कुमारीले २–२ विकेट लिँदा करुण भण्डारीको नाममा एक विकेट रह्यो। यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रन बनाएको थियो। नेपालका लागि इन्दु वर्माले अर्धशतकीय पारी खेलिन्। उनले ४७ बलमा ५ चौकाको मद्दतमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन्। टी–२० अन्तरराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो। यसका साथै उनी नेपालका लागि टी–२० आईमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी पनि बनिन्।

यस्तै, सीता रानामगरले ३३ बलमा ४ चौकासहित ३९, सरिता मगरले २१ रन बनाउँदा कविता कुँवर ८ रनमा नटआउट रहे। काजल श्रेष्ठ ३ र कप्तान रुविना क्षत्री शून्य रनमा आउट भइन्। जितसँगै नेपालले तीन म्याच सिरिजमा १–० को अग्रता बनाएको छ।

नेपाल र कतार पहिलोपटक टी–२० अन्तरराष्ट्रिय सिरिज खेलिरहेका हुन्। सिरिज सकिएपछि नेपाली टोली ३ मंसिरमा यूएईतर्फ लाग्ने कार्यक्रम छ। त्यहाँ नेपालले आइसिसी वुमन्स टी–२० एसिया छनोटका खेल्ने छ। पहिलो खेलमा ६ मंसिरमा हङकङसँग प्रतिस्पर्धा गर्दा ७ मंसिरमा भुटान र ९ मंसिरमा कुवेतसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ।

त्यस्तै, १० मंसिरमा मलेसिया र १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ। सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन्।

प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्