Kathmandu Press

कर्णालीका पूर्वाधारमन्त्री खड्कबहादुर खत्री फरार

काठमाडौं, भदौ १ : अदालतले तीन दिनभित्र पक्राउ गर्नु पर्ने आदेश दिएको भएपनि कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री ६ दिनसम्म पक्राउ प....

कर्णालीका पूर्वाधारमन्त्री खड्कबहादुर खत्री फरार
फाइल फोटो

काठमाडौं, भदौ १ : अदालतले तीन दिनभित्र पक्राउ गर्नु पर्ने आदेश दिएको भएपनि कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री ६ दिनसम्म पक्राउ परेका छैनन् । प्रहरीका अनुसार, उनी फरार रहेका छन्।

पाटन उच्च अदालतले बैंकिङ कसुरमा पूर्वाधारमन्त्री खत्रीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराउन प्रहरीका नाममा आदेश दिएको थियो। साउन २७ गते उच्च अदालतले दिएको आदेशमा तीन दिनभित्र अदालतमा उपस्थित गराउनु भनिएको थियो।

अदालतले पक्राउ गर्न आदेश दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भौतिक पूर्वाधारमन्त्री खत्रीलाई पदमुक्त गरेकाे जानकारी प्रदेश प्रमुखलाई दिएका छन्।

अदालतको आदेशपछि उनी एक पटक प्रहरी कार्यालय पुगेको जनाएको छ। कागज गरेर फर्किएका उनी फरार रहेको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार, उनी सुर्खेतबाट काठमाडौं आएका छन्। तर, कहाँ छन भन्ने प्रहरीले पनि सूचना पाएको छैन।

उनीसहित पाँच जनालाई एक करोड १० लाख ८० हजार रकमको कीर्ते बैंक ग्यारेन्टी गरेको आरोप लागेको छ। कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर उनीहरूले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतको ठहर छ।

उनको खोजी भइरहेको नेपाल प्रहरीले जनाएको छ। उनी पक्राउ परेको दिन अदालतमा उपस्थित गराइने प्रहरीको भनाइ छ।

सुर्खेत क्षेत्र नं. १ ‘ख’बाट निर्वाचित खत्री प्रदेशका मन्त्री भएका थिए। उनी तत्कालीन एमालेबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

 

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, भदौ १, २०७६