सरकार संचालनमा प्रधानमन्त्री असफल : रिजाल
काठमाडौं, भदौ १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन्।
....
काठमाडौं, भदौ १ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन्।
प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले संसदसँग गरेको कार्यसम्पादन करार पूरा गर्न नसकेको उनको भनाइ थियो। बजेट कार्यान्वयन सरकारले संसदसँग गरेको कार्यसम्पादन भएको भन्दै उनले त्यो पूरा हुन नसकेकाले प्रधानमन्त्री शासन सञ्चालनको परीक्षामा असफल भएको तर्क गरे।
उनले भने, ‘प्रधानमन्त्री ज्यू, तपाईले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औला उठाउनुहोला, मन्त्री फेर्नुहोला। तर, जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खै? हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन प्रधानमन्त्रीज्यू। त्यतिमात्रै होइन संसदले गरेको थियो कार्यसम्पादन करार अघिल्लो वर्ष। बजेट कार्य सम्पादन करार हो। संसद र सरकारको। पूरा गर्न सक्नुभएन प्रधानमन्त्रीज्यू। यो परीक्षामा असफल भईसक्नुभयो। आउने दिन सफलता प्राप्त होस शुभकामना व्यक्त गर्छु।’
एक वर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथि मिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउदै उनले अहिले भने आधार वर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराए।
लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाहरुले सरकार बनाएको दाबी गर्दे उनले एक पल्टको लडाईले जीवनभरी जे पनि गर्न अनुमति नदिने भन्दै लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपन नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दे सांसद रिजालले अर्को चुनावपछि कांग्रेसको सरकार बन्ने बताए।
उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ। ठीक हो प्रधानमन्त्रीज्यू। यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेस बाहेक अरु कसको सरकार बन्छ? यसपल्ट त यही सरकारभन्दा तरंग सत्तामा गयो गएन मलाई थाहा छैन। शुभकामना छ सत्ताभित्रै कोही तरंगित नभएको होस्।’
सांसद रिजालले नियमावलि अनुसार प्रश्नोत्तरको समय उपलब्ध नगराईएकोमा व्यंग्यात्मक शैलीमा सभामुखको पनि ध्यानाकर्षण गराए।
सांसद रिजालले भने, ‘प्रधानमन्त्रीको सम्बोधनको क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त र स्वस्थ देखेर म यति खुशी भए कि प्रश्नोत्तर सोध्नै बिर्सेछु। अरु साथीहरुलाई पनि त्यही परेछ। सभामुखले नियमावलिअनुसार प्रश्नोत्तरको समय त पक्कै दिनुभएको थियो। सभामुखले नियमावलि मिच्नुहुन्न मलाई विश्वास छ। म भिडियो रेकर्ड पनि चेक गर्दिन।’











-1784808429.png)