Kathmandu Press

बिहानैदेखि चाँगुनारायणमा भक्तजनको भीड

बिहानैदेखि चाँगुनारायणमा भक्तजनको भीड

भक्तपुर, कात्तिक २९ : हरिबोधनी एकादशीका दिन भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ।

उपत्यकामा रहेका चारनारायणमध्येको जेठो नारायणका रूपमा पुजिँदै आएको सो मन्दिरमा आज बिहान ४ बजेदेखि नै दर्शनार्थीको भीड लागेको स्थानीयवासी एवं चानपा–४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले जानकारी दिए।

Hardik ivf

आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्कुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने गर्दछन्।

चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा रहेको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेकाले बिहानैदेखि नै दर्शनार्थीको भीड लागेको चाँगुनारायण मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिए।

मन्दिरमा सहजरुपमा दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए। चारवटै नारायणको दर्शन गर्न नसक्ने पनि चाँगुनारायण मन्दिरका दर्शनमा आउने गर्दछन्।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान विष्णु आजै जागा हुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीका रुपमा विशेष पूजा अर्चना गरेर मनाइने पूजारी राजोपाध्यायको भनाइ छ। 

हरिशयनी एकादशीका दिन घरघरमा रहेको तुलसीको मठलाई सिँगारेर पूजा गरी माला लगाई तुलसीको पूजा गर्ने गर्ने गरिन्छ। आजको दिनमा ब्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने प्रचलनसमेत रहेको छ।  

चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। आज चार नारायणमध्ये जेठो नारायणका रुपमा मानिँदै आएकोे चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले यहाँका सरकारी कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सहकारी संस्था, शैक्षिक संस्थालाई सार्वजनिक बिदा दिएको नगर प्रमुख मिश्रले जानकारी दिए। 

प्रकाशित मिति: १५:१० बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्