Kathmandu Press

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाँके, कात्तिक २८ : बाँकेको नरैनापुर गाउँपालिकास्थित राष्ट्रिय वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा नरैनापुर गाउँपालिका–४, पण्डितपुरुवाका लखन गडरिया रहेको छ। गाई चराउन वनमा गएको बेला बाघको आक्रमणमा परी उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए। 

Hardik ivf

उनका अनुसार, यही कात्तिक २५ गते गाई चराउन वनमा गएका गडरिया नफर्किएपछि प्रहरीमा दुई दिनपछि खोजतलासका लागि शनिबार घरपरिवारले निवेदन दिएका थिए। निवेदनका आधारमा वनमा खोजतलासका क्रममा गएराति गडरिया र एउटा गाई मृत भेटिएको हो।

नरैनापुरको पर्यटकीयस्थल गोवद्र्धन धामदेखि करिब ५ किलोमिटर पूर्वपट्टी राष्ट्रिय वनमा गडरियाको शव फेला परेको थियो। शवको पिठ्यूँको भाग बाघले खाएको छ। घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ। बाघले एउटा गाईसमेत मारेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, भोजभगवानपुरका प्रहरी निरीक्षक गौतमले बताए। 

बाँके निकुञ्जसँगै जोडिएको राप्तीसोनारी गाउँपालिकाको गाभर क्षेत्रमा केही महिनाअघि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएपछि बाघको त्रास फैलिएको थियो। राष्ट्रिय वनमा समेत बाघ देखिएपछि स्थानीय त्रसित भएको नरैनापुरका अगुवा सोहनलाल यादवले बताए।

बाघको आक्रमणमा ज्यान गुमाएका गडरियाको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए। 
 

प्रकाशित मिति: १६:०८ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्