स्वास्थ्य शिविरमा दुई हजार बढीले लिए निःशुल्क सेवा

पाल्पा, कात्तिक २८ : पाल्पाको माथागढी गाउँपालिकामा आयोजित दुईदिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी नागरिकले सेवा लिएका छन्।
मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर र त्रिवि शिक्षण अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सेभ द हार्ट र माथागढी गाउँपालिकाद्वारा आयोजित उक्त शिविरमा दुई हजार ७९५ जनाले स्वास्थ्य जाँच गराएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए।
‘कतिपय बिरामी भएर पनि अन्यत्र उपचार गर्न जान नसक्ने र आर्थिक समस्याले रोगसँग भित्रभित्रै लडेर बसिरहनुपर्ने अवस्थालाई दृष्टिगत गरेर गाउँमै शिविर आयोजना गरी सेवा दिएका हौँ, शिविरमा धेरैले सेवा लिनुभएको छ,’ उनले भने।
शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको शिविरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले मुटु परीक्षण गरेको हो।
मुटु परीक्षण गराएकामध्ये ६० जनामा जटिल समस्या देखिएपछि काठमाडौं पठाइएको छ। तीमध्ये ४३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ। शिविरमा ४२८ जनाको इसिजी र ३८१ जनाको इको गराइएको छ । परीक्षण गर्दा विद्यार्थीलाई पनि मुटुसम्बन्धी समस्या देखिएको बताइएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
