Kathmandu Press

३० वर्षभित्र पुरै डुब्दैछ इन्डोनेशियाको राजधानी जकार्ता

जकार्ताका लागि यो कठिन समय हो। अहिलेकै दर कायम भए पृथ्वीकै सबैभन्दा तीव्र गतिमा डुब्दै गरेको यो शहरको एक तिहाइ भाग सन् २०५० सम्म पूरै डुब्ने वातावरणविद्हरूले चेतावनी द....

३० वर्षभित्र पुरै डुब्दैछ इन्डोनेशियाको राजधानी जकार्ता

जकार्ताका लागि यो कठिन समय हो। अहिलेकै दर कायम भए पृथ्वीकै सबैभन्दा तीव्र गतिमा डुब्दै गरेको यो शहरको एक तिहाइ भाग सन् २०५० सम्म पूरै डुब्ने वातावरणविद्हरूले चेतावनी दिएका छन्।

दशकौंसम्म जमिनमुनिको पानीको अनियन्त्रित र अत्यधिक दोहन, बढ्दो समुन्द्रिक सतह र तीव्र रूपम बदलिने मौसमका कारण त्यहाँका एकाध स्थान हराउन थालिसकेको बुझ्न सकिन्छ। विद्यमान वातावरणीय उपायहरूले खासै प्रभाव नपरेकाले अधिकारीहरूले ठूलो निर्णय गर्दैछन्: देशले अब नयाँ राजधानी पाउनेछ। स्थानीय समाचार अनुसार नयाँ स्थानबारे चाँडै जानकारी हुनेछ।

“हाम्रो देशको राजधानी बोर्नियोको टापुमा सारिनेछ,” इन्डोनेशियाका नेता जोको विडोडोले ट्वीटरमा भनेका छन्। देशको प्रशासनिक र राजनीतिक केन्द्र सार्ने विषय राष्ट्रिय संरक्षणको कार्य हुनसक्छ तर यो निर्णय जकार्ताका लागि मृत्यु घोषणा हुनसक्छ। शहरका एक करोडभन्दा धेरै स्थानीय त्यहाँबाट भाग्ने सम्भावना देखिँदैन। 

Hardik ivf

“बाढी आउँदा म काम्थें,” फूड स्टल चलाउने रास्दीले भने।  “सन् २००७ मा झण्डै डुबें। मेरा सबै सामान बगेर गयो। फेरि सुरू गर्नुपर्‍यो,” डुब्दो जमिनबाट सबैभन्दा धेरै प्रभावित जकार्ताको उत्तरी बन्दरगाह नजिकै बस्ने रास्दीले भने।

भूकम्प क्षेत्र, दलदल र १३ वटा नदीहरूको संगमस्थलको जगमा बसेको शहरलाई अव्यवस्थित विकास, ट्राफिक र कमजोर शहरी विकास योजनाले थप तनाव दिएको छ।

लाखौं जोखिममा

जकार्ताको उत्तरी क्षेत्रमा पाइपबाट गरिने पानी वितरण प्रणाली छैन। त्यसैले स्थानीय उद्योग र लाखौं बासिन्दा त्यहाँको जमिनमुनि भएका पानीको स्रोत प्रयोग गर्छन्।

यसरी अव्यवस्थित रूपले जमिनमुनिको पानी प्रयोग गर्दा जमिन खस्किन्छ। जकार्ताको केही क्षेत्र प्रति वर्ष लगभग १० इञ्चले डुब्दैछ। विश्वका प्रमुख तटीय शहरभन्दा यो दोब्बर बढी हो। आज जकार्ताका केही भू-भाग समुद्री सतहभन्दा चार मिटरभन्दा तल छ। यसले यहाँको भू-दृश्य अपरिवर्तनीय रूपमा फेरिएको छ। लाखौं मानिस प्राकृतिक विपद्को जोखिममा छन्।

यो उष्ण प्रदेशीय देशमा वर्षाको मौसममा बाढी आउनु सामान्य कुरा हो। ग्लोबल वार्मिङका कारण बढ्ने समुद्री सतहले समस्या झनै गम्भीर हुन्छ।
समुद्र किनार नजिकै आंशिक रूपले डुबेको एउटा मस्जिदले समस्याको गम्भीरता देखाउँछ। सडकमा जताजतै खाल्डोहरू भेटिन्छन्। कतिपयको भुइँतला बस्नयोग्य छैन। कोही नबस्ने एउटा घरको भुइँमाथि धमिलो हरियो पानी बगेको छ। समुद्र किनारमा फोहोर थुप्रिएको छ।

“आफ्नै आँखाले देख्न सकिन्छ,” ४२ वर्षीय आन्द्रीले भने। “म सानो हुँदा त्यहाँ पौडी खेल्थें। समय बित्दै गयो, पानी पनि माथि माथि आउँदै गयो,”उनले भने। बोर्नियको द्वीपमा २१ औं शताब्दीको राजधानी बनाउने योजनालाई विडोडोले जोड दिइरहेका छन्। स्थानीय अधिकारीहरू जकार्ताको समाधान निकाल्न खटिरहेका छन्।

जाभा समुद्रविरूद्ध “बफर” को काम गर्ने कृतिम द्वीप र समुद्र किनारमा विशाल पर्खाल निर्माण गर्ने योजना अनुमोदन भएको छ। तर ४० अर्ब अमेरिकी डलरको उक्त परियोजनाले शहरलाई डुब्नबाट बचाउँछ भन्ने कुनै ग्यारेन्टी छैन। त्यसमाथि परियोजना वर्षौं ढिला भएको छ।

छेकबार बनाउने प्रयास पहिले नगरिएको पनि हैन। रास्दी र उच्च जोखिम भएका अन्य क्षेत्रमा कङ्क्रिटको एउटा पर्खाल बनाइएको थियो। तर अहिले पर्खाल चर्किएको छ। डुब्दै गरेको सङ्केत पनि देखिन्छ। त्यहाँबाट रसाएको पानीले शहरको सबैभन्दा गरिब क्षेत्रका साँघुरा सडक र झुपडीहरू भिजाउँछ।

जोखिममा रहेका शहरहरू

“पर्खाल बनाउनु स्थानीय समाधान होइन,” हेरि आन्द्रेयासले भने।  उनी बान्डुङ इन्स्टिट्युट अफ टेक्नोलोजीका वैज्ञानिक हुन्। उनी भन्छन्,“हामीले एक पाइला अघि बढेर हाम्रो पानी व्यवस्थापन प्रणाली ठिक पार्नुपर्छ।”

दक्षिणपूर्वी एसियाकै सबैभन्दा ठूलो अर्थतन्त्रको केन्द्रमा केही वर्षयता विकास निर्माणको काम तीव्र भएको छ। नयाँ र गगनचुम्बी भवनहरूले जमिन थिचेका छन्। यसले डुबानको समस्या झन् बढाएको छ। तर जमिनमुनिको पानी निकाल्ने कार्यले सबैभन्दा बढी प्रभाव पारेको छ। पानी जम्मा गर्ने पूर्वाधार वा बृहत पाइप सञ्जालको अभावका कारण शहरको माग पूरा गर्ने अर्को विकल्प पनि नभएको आन्द्रेयासले बताए।

यसरी डुब्ने जकार्ता एक मात्र शहर भने होइन। भेनिस र सांघाईदेखि न्यू ओर्लियन्स र बैङ्ककजस्ता शहर पनि जोखिममा छन्। तर समस्या समाधानका लागि जकार्ताले खासै काम नगरेको आन्द्रेयासले बताए।

“उनीहरूले समाधानका पाइला चालेका छन्। ती उपाय महँगा छन्। तर भविष्यको परिणामलाई हेर्ने हो भने त्यो खेर जाँदैन। सधैंजस्तै कहाँबाट सुरू गर्ने, त्यही समस्या हो,” उनले भने। जकार्ताको सबैभन्दा खतरनाक क्षेत्रमा जीविका चलाउने धेरैसँग समाधानको प्रतिक्षा गर्ने समय छैन। उनीहरूसँग त्यहाँबाट भाग्ने कुनै उपाय वा माध्यम पनि छैन।

“पक्कै चिन्ता छ तर म केही गर्न सक्दिनँ,” ४० वर्षीय रास्तिनी भन्छन्,“म बालखैदेखि यहाँ बसेको हुँ र म यही बस्नेछु।”
 

प्रकाशित मिति: ०६:५६ बजे, आइतबार, भदौ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्