न्यायालयको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त छ : मन्त्री बडू
काभ्रेपलाञ्चोक, कात्तिक २७ : कात्तिककानून, न्याय तथा सङ्घीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायालयमा देखिएको हालको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त रहेको बताएका छन्। काभ्रेपलाञ्चोकको...
काभ्रेपलाञ्चोक, कात्तिक २७ : कात्तिककानून, न्याय तथा सङ्घीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायालयमा देखिएको हालको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त रहेको बताएका छन्।
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ वडा कार्यालय भवन तथा सामुदायिक स्वास्थ्य इकाइ भवनको आज उद्घाटन गर्दै उनले न्यायालयको विवाद ‘स्वयं स्वतन्त्र ढङ्गले’ समाधान हुनेमा सरकार विश्वस्त रहेको बताए। ‘हालको न्यायपालिकाभित्रको समस्या समाधान स्वयं स्वतन्त्र ढङ्गले उहाँहरुले आफैले समाधान गर्नेमा सरकार विश्वस्त छ। सरकारको चाहना पनि त्यही हो,’ मन्त्री बडूले भने। न्यायलयभित्र कतिपय सुधारका विषय रहेकाले बार र बेञ्चबीचको आपसी विवाद टुङ्गिएर सद्भावतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो।
‘जनताले न्याय पाउने बाटो धेरै दिन अवरुद्ध हुनुहुँदैन, सरकारको आग्रह र अपेक्षा छ, लामो समय यो विवाद नबल्झियोस्,’ मन्त्री बडूले भने। न्यायसम्पादनमा समस्या देखिँदै आएकाले यस क्षेत्रमा सङ्घीयता लागू भइनसकेको प्रभाव देखिएको उनले उल्लेख गरे। ‘न्याय क्षेत्रमा सङ्घीयता लागू भए सर्वोच्चमा आएर मुद्दा थन्किने, चाप बढ्ने र न्याय ढिला हुने अवस्था आउने छैन, अब उच्च अदालत र जिल्ला अदातलमा मुद्दालाई विकेन्द्रीकरणतर्फ लाग्नुपर्छ,’ उनले भने।
न्याय क्षेत्रमा सङ्घीयता लागू गर्दा पुस्तौनी न्याय खोज्नेलाई राहत मिल्ने उल्लेख गर्दै मन्त्री बडूले वर्तमान संविधानअनुसार जनतालाई छिटोछरितो र सर्वसुलभ न्याय प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘अब मुद्दा दायर भएपछि कति समयमा छिनोफानो हुने भन्ने बनाउनुपर्छ।’
फरक प्रसङ्गमा मन्त्री बडूले बृहत् शान्तिसम्झौता पूर्ण नभएकाले सरकारले यस विषयलाई पहिलो दायित्वअन्तर्गत प्राथमिकतामा राखेको बताए। ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिनुपर्छ, अब यो समय थपेर जाने विषय हैन, मुलुकमा पीडित र पीडकबीच मेलमिलापको वातावरण बनाउनुपर्छ,’ उनले भने। समाजमा मेलमिलापको आवश्यकता खड्किएको उल्लेख गर्दै मन्त्री बडूले आन्दोलनका दौरान कसले पीडा दियो, को पीडित बन्यो छानविन भई परिपुरणसहित मेलमिलाप हुुनुपर्ने धारणा राखे।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
