सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पदभार ग्रहण
धनगढी, कात्तिक २७ : सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख देवराज जोशीले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन्।प्रदेश प्रमुखको कार्यालयमा...
धनगढी, कात्तिक २७ : सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख देवराज जोशीले धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयमा पुग्दा उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए।
विसं २०२० मा बाजुराको साविक कुलमाडौँ गाविस (हाल बुढीगङ्गा नगरपालिका–५ मा) जन्मिएका जोशी प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटकपटक पक्राउ परेका थिए। बाजुराकै भानुदय माविमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेएका उनले कैलाली बहुमुखी क्याम्पस धनगढीबाट प्रमाणपत्र तह र त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट अङ्ग्रेजी विषयमा स्नातक गरेका थिए।
विसं २०४६ मा भएको राजनैतिक परिवर्तनसँगै २०४८ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित उनी देशकै कान्छो प्रतिनिधिसभा सदस्य बनेका थिए। उनी भानुदय माविको शिक्षक पदबाट राजीनामा गरेर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए।
त्यस्तै, पहिलो संविधान सदस्यका लागि भएको निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए। सशस्त्र युद्धको समयमा तत्कालिन बिद्रोही माओवादीले विसं २०५८ मा उनलाई अपहरण गरेर ८२ दिनसम्म बेपत्ता पारेको थियो।
पदभार ग्रहणपछि उनले सबैको सहयोगमा आफूले पदीय जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री शेरबहादुर देउवाले आफूप्रति विश्वास र भरोसा गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै उनले भने, 'पदअनुकूलको आचरण र व्यवहार गर्न आफू प्रतिबद्ध छु, काम गर्दा सबैबाट सहयोग प्राप्त हुने विश्वासमा छु।'
देश सङ्घीय संरचनामा गएसँगै सुदूरपश्चिम प्रदेशमा नियुक्त हुने उनी चौथो प्रदेश प्रमुखम हुन्।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
