Kathmandu Press

सङ्कटा क्लबलाई स्पोर्ट्स कम्पनी युक्यानको प्रायोजन

सङ्कटा क्लबलाई स्पोर्ट्स कम्पनी युक्यानको प्रायोजन

काठमाडौं, कात्तिक २६ : आसन्न ए डिभिजन लिग फुटबल प्रतियोगिताका लागि चिनियाँ ब्रान्डको स्पोर्ट्स कम्पनी युक्यानले सङ्कटा क्लबलाई प्रायोजन गरेको छ। 

यसका लागि आज आयोजित एक कार्यक्रममा युक्यानका प्रबन्ध निर्देशक राजीन महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरे। युक्यानले सङ्कटालाई ए डिभिजन लिगका लागि रु. १० लाख बराबरीको खेल सामग्री उपलब्ध गराउनेछ।

युक्यानका प्रबन्ध निर्देशक महर्जनले फुटबलप्रतिको मायाका कारण क्लबसँग विशेषरुपमा जोडिएको बताए। त्यस्तै क्लबका अध्यक्ष तुलाधरले टिम वर्क र अनुशासन सङ्कटाको बलियो पक्ष रहेको बताउँदै आसन्न लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सङ्कटा क्लबले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि २५ सदस्यीय टोली सार्वजनिकसमेत गरेको छ। टोलीमा गोलकिपर राजाबाबु थापा, रोहित कार्की र अजय महर्जन छन् भने रक्षकमा अर्नेस्ट टाम्पी, रवि सिलवाल, सरोज दाहाल, जनक कोइराला, अमित तामाङ, दीपेन्द्र विक, निराज बस्नेत र रोमन लिम्बू छन्। 

त्यसैगरी मिडफिल्डरमा रोशन पहरी, जय गुरुङ, सुभास गुरुङ, लक्ष्मण रुचाल, फोडे फोफना, टीकाराज गुरुङ र समिर बराल छन् भने स्ट्राइकरमा दिपेश आले मगर, गणेश हमाल, उत्तम राई, शीर्षक तुलाधर र यनिक छन् । प्रशिक्षकमा विष्णु गुरुङ र राजकुमार केसी छन् । त्यस्तै टिम व्यवस्थापकमा राजेश तुलाधर छन्।  

प्रकाशित मिति: १५:३० बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्