जनगणनाका गणक र सुपरीवेक्षक घरदैलोमा
बनियानी, कात्तिक २५ : राष्ट्रिय जनगणना–२०७८ का लागि आजदेखि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको सरकारी...
बनियानी, कात्तिक २५ : राष्ट्रिय जनगणना–२०७८ का लागि आजदेखि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको सरकारी आवासबाट आज जगणनाको शुभारम्भ गरिएपछि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका हुन् ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख एवं जिल्ला जनगणना समन्वय समिति झापाका संयोजक श्रवणकुमार तिम्सिनाले यथार्थ विवरण सङ्कलनमा सबै पक्षले सहयोग अपरिहार्य भएको बताए। उनले भने, ‘गणक र सुपरीवेक्षक परिचालन भएपछि अनुगमन पनि हुन्छ, यस पटकको जनगणना पृथक भएकाले त्यसबारे सबैले बुझ्नु र सहयोग गर्न आवश्यक छ ।’
जिल्लामा जनगणनाका लागि एक हजार ४५२ गणक र सुपरिवेक्षण परिचालन गरिएको छ। जनगणनाका लागि झापामा दुई कार्यालय (बिरीङ नदी पश्चिम दमक र बिरीङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ। जनगणना कार्यालय भद्रपुरका प्रमुख चुणामणि लुइँटेलले दमक कार्यालय अन्तर्गत ११४ सुपरीवेक्षक र ५०५ गणक गरी ६१९ जना परिचालन गरिएको जानकारी दिए। त्यस्तै, भद्रपुर कार्यालय अन्तर्गत १५१ सुपरीवेक्षक र ६८२ जना गणक परिचालित भएका छन्।
अक्सर बसोबासको आधारमा जनणगना गरिने भएकाले केही समस्या आउन सक्ने बताउँदै उनले भने, ‘घर भाडामा बस्नेको संख्या छुट्ने चिन्ता छ।’ तर, गणकलाई राम्ररी तालीम दिएकाले त्यस्तो समस्या नहुने विश्वास लिइएको उनको भनाइ छ।
यस वर्षको जनगणनामा मातृ मृत्यु अध्ययनसमेत गर्न लागिएको उनले बताए। ‘परिवारमा १५ देखि ५९ वर्ष उमेर समूहका महिलाको मृत्यु भएको तथ्याङ्क लिइनेछ,’ उनले भने, ‘परिवारको सहमतिमा मृत्युको कारण के हो ? भन्नेबारेमा स्वास्थ्यकर्मीसहितको टोलीले जानकारी लिनेछ।’ यस पटकको जनगणनामा ५५ वटा प्रश्न रहेको जनगणना कार्यालय दमकका प्रमुख प्रेमकुमार घिमिरेले बताए।
‘व्यक्तिगत, पारिवारिक र समुदायिक प्रश्नावली रहेका छन्,’ उनले भने, ‘तथ्याङ्क सङ्कलनमा यसले ठूलो क्षेत्र समेटेको छ।’ जनगणना सफल बनाउन झापामा प्रजिअदेखि वडाध्यक्षसम्मको सहभागिता हुनेगरी चारवटा समिति गठन गरिएको छ। यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
