Kathmandu Press

मुस्ताङको आकर्षण स्याउ पछि आलु

गलकोट, कात्तिक २५ : मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ।अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै...
मुस्ताङको आकर्षण स्याउ पछि आलु

गलकोट, कात्तिक २५ : मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ।

अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ। स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ।  

बागलुङ बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन्। उच्च हिमाली क्षेत्रमा फलेको आलु निकै स्वादिष्ट हुने भएकाले महँगो मूल्य तिरेरसमेत उपभोक्ताले खरिद गर्ने गरेका छन्। 

Hardik ivf

दसैँ तिहारका याममा झण्डै चार हजार केजी स्याउ बिक्री गरेको यहाँका फलफूल तथा तरकारी व्यापारी शङ्कर रेग्मीले जानकारी दिए। उनले स्याउ मात्रै हैन, मुस्ताङको आलुको समेत बजारमा उच्च माग भइरहेको बताए। उनले मात्रै दशै तिहारकै बीचमा पाँच हजार केजी मुस्ताङी आलु बिक्री गरिसकेका छन्। 

‘मुस्ताङको स्याउ बजार ल्याउनै समस्या छ, अन्य जिल्लाबाट समेत मुस्ताङको स्याउको माग भइरहेकाले बल्ल तल्ल स्याउ आउँछ, आलुको अवस्था उस्तै छ,’ उनले भने, ‘मुस्ताङको टुकुचे, सिस्याङ भन्ने स्थानबाट आलु आयात गर्दै आएको छ, बजारमा स्याउजस्तै आलुको समेत उच्च माग रहेको छ, मुस्ताङी आलु बागलुङमा पु¥याउनै मुस्किल छ।’

उनीजस्ता धेरै व्यापारीले मुस्ताङको आलु र स्याउको बागलुङ बजारमा आयात गर्दै आएका छन्। अहिले मुस्ताङी स्याउको प्रतिकेजी रु १७० र आलु प्रतिकेजी रु ८५ मा किनबेच भइरहेको छ। मुस्ताङको स्याउजस्तै आलुसमेत निकै स्वादिष्ट भएकाले महँगो भए पनि खरिद गरेर उपभोग गर्ने गरेको स्थानीय सुरेश आचार्यले बताए। 

रामरेखा होलसेल तरकारी पसलमा युवा व्यवसायी आर्यन जेरीले आलु खुद्रा र थोक दुवै तरिकाले व्यापार गर्दै आएका छन्। उनले आलु बागलुङ झारेको एक हप्तामै गोदाम रित्तिने गरेको जानकारी दिए।

‘पहिले पैसा पठाएपछि मात्रै मुस्ताङको आलु आउँछ, अहिले दसैँ अघिदेखि १० हजार केजी आलु मुस्ताङको मात्रै बिक्री गरे, तराईको र बागलुङको ढोरपाटन र ताराखोलाको आलु पनि बिक्री भइरहेको छ,’ उनले भने, ‘सस्तो आलु चाहनेलाई तराईको आलु छ, बागलुङको ताराखोला र ढोरपाटनको आलुको मागसमेत उच्च छ, तर मुस्ताङको आलु उपभोक्ताले निकै रुचाउने गरेका छन् ।’ 

ताराखोला र ढोरपाटनको आलुसमेत बागलुङबाट पोखरालगायतका क्षेत्रमा निकासी हुने गरेको छ तर बागलुङ जिल्लामा मुस्ताङको आलु तथा स्याउ यति नै भित्रिन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि जिल्लामा धेरै मात्रमा मुस्ताङको स्याउ र आलु ठूलो मात्रामा आयात हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकाल जानकारी दिए।

बागलुङमा समेत ढोरपाटन आलु सुपरजोन कार्यक्रम सञ्चालित छ। हिमाली क्षेत्र मुस्ताङका साथै छ महिना निकै चिसो हुने ढोरपाटन र ताराखोलाको आलु देश विदेशमा समेत चर्चित छ। चिसो हावापानीमा उब्जनी भएकाले उपभोक्ताले महँगो मूल्य तिरेरै भए पनि मुस्ताङको स्याउ, आलु ढोरपाटनको आलु रोज्ने गरेका छन्। रासस
 

प्रकाशित मिति: ०९:३९ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्