Kathmandu Press

पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति

चितवन, साउन ३१ : पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदा....

पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति
फाइल

चितवन, साउन ३१ : पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। 

जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमको इजलाशले शुक्रबार रविसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि प्रहरीले रविसहित तीन जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरी शुक्रबार चितवन जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो।

प्रहरीले नर्स कार्कीलाई बिहीबार दिउँसो कलंकीबाट पक्राउ गरेको थियो भने रवि र कँडेललाई न्यूज २४ टेलिभिजनबाट पक्राउ गरेको थियो। 

केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार पुडासैनीले आफूलाई आत्महत्या गर्ने निर्णयसम्म पुर्‍याउन रवि र कँडेलको हात रहेको आरोप लगाएको भिडियो सार्वजनिक भएसँगै उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।

पत्रकार पुडासैनीले आफूलाई काम लगाएर थोरै पैसा दिएको, अष्ट्रेलिया डिपेन्डेन्ट भिसामा पठाइदिने भनेर प्रेमिका पनि खोजिदिएको र पछि बलात्कार गरेको भनेर फसाउन खोजेकाले आफूले आत्महत्याको बाटो रोजेको भिडियोमा उल्लेख गरेका थिए। 

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, साउन ३१, २०७६