वामदेव गौतम नेकपा उपाध्यक्ष
काठमाडौं, साउन ३१ : नेकपा सचिवालय बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संगठन विभाग....
काठमाडौं, साउन ३१ : नेकपा सचिवालय बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संगठन विभाग प्रमुख सहित उपाध्यक्ष बनाउने निर्णय गरेको हो।
गौतम यसअघि पनि दुई कार्यकाल नेकपा एमालेका उपाध्यक्ष थिए। समकालीन नेताहरूमा सबैभन्दा ज्येष्ठ गौतम तीन पटक उपप्रधानमन्त्री एवम् गृहमन्त्री भइसकेका छन्। गत मंसिर–पुसमा सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको प्रस्तावविरुद्ध फरकमत राखेपछि ओलीसँग दूरी बढेको थियो।
बैठकमा प्रधानमन्त्री ओलीले नै गौतमलाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेका हुन्। नेकपा महासचिव विष्णु पौडेलका अनुसार, गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव आगामी स्थायी कमिटी बैठकमा लगेर अनुमोदन गराइने छ। त्यसपछि उनले उपाध्यक्षको जिम्मेवारी बहन गर्नेछन्।
बैठकमा गौतमलाई कास्की क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्न समेत प्रस्ताव गरिएको छ। यसअघि नै गौतमले विज्ञप्ति जारी गरेर कास्कीमा उम्मेद्वार नबन्ने बताइसकेका छन्। उनी स्व. रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई उम्मेद्वार बन्नुपर्ने मत राख्छन्।
गौतम गत निर्वाचनमा बर्दियाबाट पराजित भएका थिए। त्यसपछि उनी कुनै न कुनै क्षेत्रबाट चुनाव लड्ने मनस्थितिमा छन्।
नेकपा स्थायी कमिटीका एक नेताले भने, ‘सिंगो पार्टीले उहाँलाई चुनाव लड्ने वातावरण तयार ग¥यो भने उहाँ चुनाव लड्ने सम्भावना छ। उहाँले सचिवालय बैठकमा पनि कुनै जवाफ दिनुभएको छैन।’






