Kathmandu Press

टुँडिखेल र सैनिक मञ्चको पुनःनिर्माण गर्दै सेना

काठमाडौं, साउन ३१ : काठमाडौंको मध्यभागमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई नेपाली सेनाले पुनःनिर्माण गर्न लागेको छ।

प्रधानसेनापति पूर्णचन्द....

टुँडिखेल र सैनिक मञ्चको पुनःनिर्माण गर्दै सेना
फाइल फोटो

काठमाडौं, साउन ३१ : काठमाडौंको मध्यभागमा रहेको ऐतिहासिक महत्वको टुँडिखेललाई नेपाली सेनाले पुनःनिर्माण गर्न लागेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले टुँडिखेल पुनःनिर्माण गर्न लागिएको बताए। काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा पुनःनिर्माण गर्न लागिएको उनले बताए। यसका लागि झण्डै ९० करोड आवश्यक पर्नेमा यस वर्ष वार्षिक बजेटमा पाँच करोड परेको सेनाले जनाएको छ।

राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न राजधानीमा उपलब्ध ऐतिहासिक धरोहरका रूपमा रहेको टुँडिखेललाई सुधार गर्ने क्रममा आधुनिक संरचना, नेपाली वास्तुकलासहित सैनिक मञ्चको क्षमता वृद्धि गरिनेछ। यसले सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको छ।

टुँडिखेलभित्र २०१८ मा आधुनिक सैनिक मञ्च निर्माण गरिएको थियो। पुनःनिर्माणको क्रममा टुँडिखेल वरिपरि उद्यानसहितको ‘जगिङ ट्र्याक’ र महाँकाल मन्दिरबाट पुरानो बसपार्क जाने आकर्षक लिङ्करोड र दक्षिणमा प्यारापिट बनाइनेछ।

सैनिक मञ्चमा हाल कायम रहेको एक हजार तीन सय ६५ सिट सङ्ख्यालाई बढाएर तीन हजार ८० पु¥याउने, भूकम्प प्रतिरोधी परम्परागत नेपाली संरचना, अतिविशिष्ट व्यक्तिका लागि ‘बुलेटप्रुफ क्याबिन’, फरक क्षमताका व्यक्तिमैत्री भौतिक पूर्वाधार, सर्वसाधारणका लागि सहज पहुँच र भूमिगत पार्किङसम्बन्धी विषय टुँडिखेल तथा सैनिक मञ्च सुधार परियोजनामा समावेश गरिएको छ।

अतिविशिष्ट व्यक्तिसमेत उपस्थित भइरहने तथा राष्ट्रिय कार्यक्रम हुने सैनिक मञ्चलाई साजसज्जासहित चिटिक्क र आधुनिक तुल्याउने कार्यक्रम अघि बढाइएको रक्षा मन्त्रालयका  सहायक प्रवक्ता मनोजकुमार आचार्यले बताए। त्यहाँ लिफ्टसहितको व्यवस्था गरिने बताइएको छ।

विसं १९९० अघि र पछिका ठूला भूकम्पमा राजधानीवासीलाई आश्रय दिँदै आएको टुँडिखेल शहरी क्षेत्रका नागरिकको लागि अहिले बिहान–बेलुका स्थास्थ्यलाभका लागि हिँड्डुल गर्ने थलोका रूपमा समेत प्रयोग भइरहेको छ। त्यसो त, पहिलो र दोस्रो विश्वयुद्धमा सहभागी हुन जाने नेपाली युवाले यसै टुँडिखेलमा अभ्यास गरेको इतिहास छ।

शहरका केटाकेटीलाई दुःख दिने गुरुमापा नामक राक्षसलाई घोडाको टापले थिचेर अन्त्य गर्न घोडा कुदाउने परम्परा पनि यही टुँडिखेलले बोकेको छ।

मुलुकका विभिन्न भागका नागरिकले काठमाडौँ आएर हेर्ने महत्वपूर्ण स्थलका रूपमा रहेको टुँडिखेलमा अहिले शहरी क्षेत्रका स–साना केटाकेटी र युवापुस्ताका लागि फुटबल र क्रिकेट सिक्ने ठाउँ तथा योग अभ्यास गर्ने थलो भएको छ। विभिन्न चाडपर्वसँग जोडेर टुँडिखेलमा अचेलभर मेला र महोत्सवसमेत आयोजना गरिँदै आइएको छ।

वीर सैनिकको योगदानको स्मरण र कदरस्वरुप निर्माण गरिएको सैनिक मञ्चमा विगतमा नेपाल भ्रमणमा आउने विशिष्ट पाहुनालाई सम्मान गारत प्रदान गर्ने प्रचलन थियो। पुनःनिर्माणपछि टुँडिखेलमा आयोजना हुने राष्ट्रिय कार्यक्रममा सर्वसाधारणको पहुँचलाई समेत व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ। (रासस)

प्रकाशित मिति: १४:२९ बजे, शुक्रबार, साउन ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्