प्रधानमन्त्रीले भने– मलाई सिंगापुरका डाक्टरले अब २०–२५ वर्ष केही हुँदैन भनेका छन्
काठमाडौं, साउन ३१ः प्रधानमन्त्री केपी शर्मा ओलीले भरिभराउ बैठक कक्षमा प्रशन्न मुद्रामा प्रवेश गर्दै सोधे- म सिकिस्तै भएँ कि भन्ने लागेर भेट....
काठमाडौं, साउन ३१ः प्रधानमन्त्री केपी शर्मा ओलीले भरिभराउ बैठक कक्षमा प्रशन्न मुद्रामा प्रवेश गर्दै सोधे- म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो?
झापा क्षेत्र न. ५ का अगुवा कार्यकर्ताहरुलाई प्रधानमन्त्रीनिवास बालुवाटारमा यस्तो प्रश्न गरेका हुन् । उनले आफू स्वस्थ रहेको देखाउँदै अवस्था सामान्य रहेको बताए ।
नेकपाको सचिवालय बैठकको अध्यक्षता गर्न जानुअघि प्रधानमन्त्री ओलीले आफ्नो प्रतीक्षा गरिरहेका संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
पा निर्वाचन क्षेत्र नम्बर ५ र समग्र जिल्लाको विकासनिर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्ताहरुसँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा हिजो चलाइएका हल्ला निराधार रहेको पनि बताए ।
हल्लाहरुको प्रसंग उल्लेख गर्दै भने, ‘हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाएपछि सबै निको भयो तर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।’
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भने, ‘गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औँलादेखि कान्छी औँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अङ्ग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।'
प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भएको र १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको स्मरण पनि गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘म अहिले होइन, १५ वर्षअघि विरामी थिएँ । १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ ।’
प्रधानमन्त्रीले भने, ‘मलाई बिरामी नै भन्ने हो भने पनि– बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । बिरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएर बिरामी हुँदाहुँदै पार्टी एकीकरण गरेँ ।’
नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक ,गौरादह नगरपालिका र कमल गाउँपालिकामा आैद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानीबोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले औद्योगिक पार्क निर्माण हुन लागेकोमा सबैलाई बधाई दिए ।






