Kathmandu Press

कोभिड कहर : भारतमा एकै वर्ष ११ हजार ७१६ उद्योगी-व्यापारीले गरे आत्महत्या

कोभिड महामारीका कारण सन् २०२० मा संसारभरका उद्योग, कलकारखाना ठप्प रहे । त्यसका कारण चरम आर्थिक संकटमा परेका भारतका ११ हजार सात सय १६ जना उद्योगी-व्यापारीले त्यस वर्ष आत्महत्या गरेका छन् ।
कोभिड कहर : भारतमा एकै वर्ष ११ हजार ७१६ उद्योगी-व्यापारीले गरे आत्महत्या

नयाँदिल्ली, कात्तिक २३ : कोभिड महामारीका कारण सन् २०२० मा संसारभरका उद्योग, कलकारखाना ठप्प रहे । त्यसका कारण चरम आर्थिक संकटमा परेका भारतका ११ हजार सात सय १६ जना उद्योगी-व्यापारीले त्यस वर्ष आत्महत्या गरेका छन् ।

व्यापारीहरूले गरेको आत्महत्याको यो दर सन् २०१९ को तुलनामा २९ प्रतिशत बढी हो । त्यसमध्ये दक्षिणी प्रान्त कर्नाटकामा सबैभन्दा बढी एक हजार सात सय ७२ जना उद्योगी-व्यापारीले आत्महत्या गरेका छन् । कर्नाटकामा आत्महत्याको बाटो रोजेका उद्योगी-व्यापारीहरूको दर सन् २०१९ को तुलनामा एक सय तीन प्रतिशत बढी हो ।

त्यसपछि महाराष्ट्रका एक हजार ६ सय १६ र तमिलनाडुका एक हजार चार सय ४७ जना उद्योगी-व्यापारीले आत्महत्या गरेको नेसनल क्राइम रेकर्डस् ब्युरोले जनाएको छ । महाराष्ट्रमा आत्महत्या गर्ने व्यापारीको संख्या सन् २०१९ को तुलनामा २५ प्रतिशतले बढी छ । तमिलनाडुमा अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत बढी व्यापारीले आत्महत्या गरेका छन् ।

Hardik ivf

त्यसो त, सन् २०१९ मा पनि आर्थिक संकटलगायत कारणबाट भारतभर नौ हजार ५२ जना व्यापारीले आत्महत्या गरेका थिए ।

सन् २०२० मा आत्महत्या गर्नेमध्ये शुद्ध व्यापारमा संलग्नहरूको संख्या दोब्बर देखिएको छ, जो कुनै उद्योगमा संलग्न थिएनन् । पसल ठप्प हुँदा बढेको आर्थिक व्यवस्थापनको सकसबीच उनीहरूले आत्महत्या रोजेका हुन् ।

महाराष्ट्रमा भारतमै सबैभन्दा बढी लघु, साना तथा मझौता (एमएसएमई) उद्योग, कलकारखाना छन् । जहाँ त्यस्ता २८ लाख ३८ हजार उद्योग, कलकारखाना सरकारी निकायमा दर्ता छन् । तमिलनाडुमा यो संख्या १५ लाख ४० हजार छ ।

‘भारतीय व्यापारी, व्यवसायीहरूको सबैभन्दा ठूलो हिस्सा एमएसएमईमा संलग्न छ । त्यस्ता व्यापारी, व्यवसायी कोभिड-१९ महामारीबाट सबैभन्दा बढी सकसमा छन् । उनीहरूले महामारीको पीडाबाट गुज्रिनुपरिरहेको छ,’  जवाहरलाल नेहरू युनिभर्सिटीको सेन्टर फर इकोनोमिक स्टडिजका प्राध्यापक प्रवीण झा भन्छन्, ‘त्यस्ता उद्योगी, व्यापारीले महामारीको समयमा कतैबाट साथ सहयोग पाएका छैनन् । सरकारले पनि एकदमै न्यून परिमाणमा मात्र सहयोग गरेको छ । र, त्यस्तो सहयोग पनि एकदमै ढिलो गरी प्राप्त भएको छ । त्यो पनि ऋणका रूपमा मात्र छ, सरकारी अनुदान उनीहरूले प्राप्त गरेका छैनन् ।’

दिल्लीस्थित इन्स्टिच्युट अफ सोसल साइन्सका अर्थशास्त्री तथा प्राध्यापक अरुण कुमारका अनुसार मानिसलाई नजिकका पसलमा नभई अनलाइन सपिङका लागि आदेश दिइँदा साना उद्योगी–व्यापारी सबैभन्दा बढी सकसमा परेका छन् । ‘तीमध्ये अधिकांश साना व्यवसायी साह्रै सानो पुँजीबाट चलेका हुन्छन् । त्यसैले यदि उनीहरूले लामो समय कामबाट बाहिर रहनुपर्‍यो भने साह्रै छिटो नगदबाट पनि बाहिरिनुपर्छ,’ उनी भन्छन्, ‘सुको आम्दानी नहुँदा पनि उनीहरूले परिवार पाल्नैपर्छ । र, छिट्टै डिप्रेसनमा जान्छ । परिणाम- आत्महत्याको बाटो रोज्छन् ।’

एमएसएमईमा कोभिड-१९ को असर

एमएसएमईका एक हजार सञ्चालकमाझ गरिएको एक एक सर्वेक्षणका सहभागीमध्ये ७० प्रतिशतले कोभिड-१९ महामारीका कारण अर्डर नआएको, व्यापार ठप्प रहेको, कच्चा पदार्थ नै नपाएकोलगायत समस्या उल्लेख गरेका छन् ।

भारतमा सबै इन्टरप्राइजेजलाई एक ठाउँमा राख्दा ९९ प्रतिशत हिस्सा एमएसएमईको देखिन्छ । भारतभर ६ करोड ३० लाख एमएसएमई सञ्चालनमा रहेका अनुमान छ । यस्ता साना उद्योगले भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २९ प्रतिशत योगदान गर्छन् । र, त्यस्ता उद्योगबाट उत्पादित सामग्रीमध्ये झण्डै आधा हिस्सा निर्यात हुन्छ ।

तर, भारतका विभिन्न तहका सरकार दिने सहयोग गफमै सीमित हुँदा त्यस्ता उद्योगी–व्यापारीले आत्महत्याको बाटो रोज्नुको विकल्प देख्न सकेका छैनन् । आत्महत्याको यो दर बर्सेनि बढ्दो छ । सन् २०१८ मा तीन प्रतिशतले बढेको आत्महत्याको दर २०१९ मा १३ प्रतिशत पुग्यो । जब कि, भारतको ९४ प्रतिशत ‘वर्क फोर्स’ यस्तै साना उद्योगसँग छ ।

(दी वायरबाट)

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्