Kathmandu Press

पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछाने पक्राउ

काठमाडौं, साउन ३० : न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ।&n....

 पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछाने पक्राउ

काठमाडौं, साउन ३० : न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका कार्यक्रम प्रस्तोता रविसहित न्यूज २४ टेलिभिजनकै युवराज कँडेललाई प्रहरीले बिहीबार साँझ टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरेको बताइएको छ। केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार पुडासैनीले आफूलाई आत्महत्या गर्ने निर्णयसम्म पुर्‍याउन रवि र कँडेलको हात रहेको आरोप लगाएको भिडियो सार्वजनिक भएसँगै उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले पुडासैनीलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ। पत्रकार पुडासैनीले आफूलाई काम लगाएर थोरै पैसा दिएको, अष्ट्रेलिया डिपेन्डेन्ट भिसामा पठाइदिने भनेर प्रेमिका पनि खोजिदिएको र पछि बलात्कार गरेको भनेर फसाउन खोजेकाले आफूले आत्महत्याको बाटो रोजेको भिडियोमा उल्लेख गरेका थिए। 

लामिछाने र कँडेललाई पक्राउ गर्नुअघि प्रहरीले आत्महत्या प्रकरणमै जोडिएकी रुकु भनिने अस्मिता कार्कीलाई कलंकीबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: १९:४६ बजे, बिहीबार, साउन ३०, २०७६