वर्षाले क्षतिग्रस्त सिंचाइ आयोजना पुनर्निर्माण गर्न सवा २ अर्ब लाग्ने
काठमाडौं, साउन ३० : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गत असारको बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिंचाइ संरचनाहरुको पुनर्....
काठमाडौं, साउन ३० : ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गत असारको बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिंचाइ संरचनाहरुको पुनर्निर्माणमा २ अर्ब ११ करोड २२ लाख रुपैयाँ खर्च हुने जनाएको छ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पुनले क्षतिग्रस्त संरचनाको मर्मत तथा नयाँ निर्माणका लागि ३८ करोड २२ लाख र दीर्घकालीन कार्यका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने जानकारी दिएका हुन्।
सिंचाइ मन्त्रालयले तत्कालका लागि सिंचाइ संरचना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयसँग ३८ करोड २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध गराउन माग गरेको छ।क्षतिग्रस्त संरचना मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको मन्त्री पुनले जानकारी दिए।
उनले सम्भावित बाढीबारेमा वर्षाद पूर्व जल तथा मौसम विभागबाट पूर्व सूचना जारी गरिएकाले आवश्यक सर्तकता अपनाइएको र बाढीको समयमा जलश्रोत तथा सिंचाई विभाग अन्र्तगतका कार्यालयबाट आपतकालीन बचावटका कार्य संचालन गरिएकाले अनुमान गरे भन्दा कम क्षति भएको बताए।
गत वर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस वर्ष साढे २ अर्ब मात्रै भएको भन्दै उनले सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीन वटै सरकारबीच समन्वय आवश्यक पर्ने बताए।
मन्त्री पुनले नदीको बहाव प्राकृतिक रुप भन्दा विपरीत दिशाबाट संरचना बनाएकाले पनि डुबानको समस्या निम्तिने गरेको उल्लेख गर्दै समस्या सम्बोधनका लागि सरोकारवाला मन्त्रालयबीच एकीकृत योजना बनाउनुपर्ने आवश्यकता औंल्याए।
गत असार २७ देखि २९ गते सम्मको अविरल वर्षाका कारण नदी तथा स्थानीय खोलामा आएको बाढीका कारण तराई लगायत मुलुकका विभिन्न स्थानका सिंचाइ आयोजना तथा तटबन्धहरु क्षतिग्रस्त बनेका छन्।
मन्त्रालयले लाल बकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट ४० हजार थान बोरा र २ सय ५० थान नाइलन जाली तथा लाल बकैया नदीबाट विभिन्न स्थनमा भएक कटान र डुबान नियन्त्रणका लागि बागमति तथा ललबकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट १ लाख ६२ हजार थान बोरा तथा ७ सय ५५ थान नाईलन जाली क्षतिग्रस्त स्थानहरुमा उपलब्ध गराउने काम भएको जानकारी दिएको छ।






