तिहार सकिएसँगै छठको तयारी
काठमाडौं, कात्तिक २१ : नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ। पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती...
काठमाडौं, कात्तिक २१ : नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ। पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण सुरु भएको छ। गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ। यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले जानकारी दिए।
तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ। छठ पर्वको तयारीस्वरूप कात्तिक २० गते शनिबारको वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो। एउटा छठ घाट पूजाका लागि रु एक हजार १०० शुल्क समितिले लिने गरेको छ। छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको उनले सुनाए। गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो। विसं २०७६ मा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई रु छ लाख सहयोग गरेको थियो। यस वर्ष पनि सहयोग गर्ने वचन प्राप्त भएको समितिले जनाएको छ।
यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ। छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ।
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सक्खर र घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन्। यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ। बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन्। यस वर्ष कात्तिक २४ गते बुधबार यस पर्वको मुख्य दिन परेको छ।
भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ। कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको समितिका सचिव यादव बताउछन। नयाँ अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रूपमा समेत उपयोग गरिँदै आएको छ।
दुई दशकअघिसम्म तराई क्षेत्रमा मात्र विशेषरूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ मनाउन थालिएको छ। विगत वर्षमा काटिएको छठ पर्वको सार्वजनिक बिदालाई सरकारले यस वर्षदेखि भने फेरि निरन्तरता दिएको छ। पर्वका अवसरमा कात्तिक २४ गते बुधबार सार्वजनिक बिदा दिइएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
