Kathmandu Press

कन्या मुद्दति खाताले हट्यो छोरीको पढाइ र विवाहको चिन्ता

बाँकेको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दति खाता’ खोलिदिएपछि अभिभावक खुशी भएका छन् ।
कन्या मुद्दति खाताले हट्यो छोरीको पढाइ र विवाहको चिन्ता

बाँके, कात्तिक २१ : जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दति खाता’ खोलिदिएपछि अभिभावक खुशी भएका छन् ।

छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था मिलाएको जानकारी दिए । उनका अनुसार यस्ता बालिकाको बैँक खातामा १० हजार रुपैयाँ जम्मा गरिदिने र २० वर्ष नपुगी निकाल्न नपाउने व्यवस्था गरिएको छ ।

Hardik ivf

उनले भने, ‘छोरीको पढाइ पूरा होस् र उमेर नपुगी विवाह पनि नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ, छोरीले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो प्रमुख ध्येय हो ।’

गाउँपालिकाले अभिभावकको मृत्यु भएमा वा आफैँ कुनै कारणले अशक्त भए खाताको रकम निकाल्न पाउने गरी कार्यविधिसमेत बनाएको छ । यसबाट अभिभावक निकै उत्साहित भएका छन् । डुडुवाका ६ वडाभित्रका सबै बालिकाका नाममा कन्या मुद्दति शिक्षा कार्यकम लागू गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । यसका लागि यस वर्ष ४० लाख रुपैयाँ छुट्याइएको छ । उक्त कार्यक्रममा समेटिन बालिका स्वास्थ्य संस्थामा जन्मिएको प्रमाणपत्र, जन्मदर्ता तथा वडा कार्यालयको सिफारिस हुनुपर्छ ।

बेटी बचाऊ, बेटी पढाऊ नीति तथा कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दति खाता सञ्चालन गरिरहेको उनले जानकारी दिए । खातामा जम्मा भएको रकम उनी २० वर्ष पुगेर नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि उनैलाई हस्तान्तरण गरिदिने व्यवस्था कार्यविधिमा छ ।

प्रकाशित मिति: ११:५८ बजे, आइतबार, कात्तिक २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्