Kathmandu Press

अलैंची भित्र्याउन खेताला पाउनै गाह्रो

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राईलाई तिहारका बेला पनि फुर्सद छैन । उनी अलैंची टिप्न र सुकाउनमै व्यस्त छन् । लगाइएको अलैंची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करिब नौ मन अलैंची उत्पादन गर्छन् ।
अलैंची भित्र्याउन खेताला पाउनै गाह्रो

फुङलिङ, कात्तिक २० : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राईलाई तिहारका बेला पनि फुर्सद छैन । उनी अलैंची टिप्न र सुकाउनमै व्यस्त छन् । लगाइएको अलैंची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करिब नौ मन अलैंची उत्पादन गर्छन् ।

फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैंची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैंची घरमा भित्रयाउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करिब १३ मनसम्म अलैंची बिक्री गर्छन् ।

Hardik ivf

तिहारको बेला ताप्लेजुङका किसानलाई अलैंची घरमा भित्र्याउन चटारो छ । अलैंची पाक्ने याम सुरु भएसँगै यहाँका किसानको व्यस्तता बढेको छ । बेँसीमा लगाइएको अलैंची चाँडो पाके पनि लेकाली क्षेत्रको पाक्ने र घरमा भित्र्याउने काम मंसिर अन्तिम सातासम्म लाग्छ । सिरिजंगा गाउँपालिका–८ याम्फुदिनका कमल राई उच्च पहाडी भेगमा लगाइएको अलैंची भदौदेखि टिप्न थाल्ने बताउँछन् ।

‘बेँसीमा प्रायः भदौ र असोजभित्र अलैंची टिप्ने र थन्क्याउने काम सकिन्छ । लेकाली क्षेत्रमा कात्तिकदेखि मंसिरसम्म अलैंची टिप्न चटारो हुन्छ,’ राईले भने । केही वर्षयता अलैंचीको भाउ निरन्तर ओरालो लागेको छ । तर पनि यस खेतीप्रति किसानको उत्साह घटेको छैन । किसानले बर्सेनि अलैंची खेतीको क्षेत्र विस्तार गरिरहेका छन् । मसला, जडीबुटी र औषधिका रूपमा प्रयोग गरिने अलैंची जिल्लाका ६१ वडामा खेती गरिँदै आएको छ । अलैंचीबाटै किसानको आर्थिक अवस्था बलियो भएको मिक्वाखोला गाउँपालिका–६ का देउप्रसाद लिम्बूले बताए ।

उनले भने, ‘भूगोलअनुसारको जातको अलैंची लगाउन सके आम्दानी मनग्य गर्न सकिने सम्भावना छ ।’ कम मेहनतले अन्य बालीको  तुलनामा बढी आम्दानी लिन सकिने भएकाले पछिल्लो समय किसान अलैंची खेतीतर्फ आकर्षित हुने गरेको लिम्बू बताउँछन् ।

अलैंची बिक्रीबाट बर्सेनि जिल्लामा करोडौँ रकम भित्रिने गरेको छ । अलैंचीको दाना र बेर्ना बिक्रीबाट किसानको आर्थिक अवस्थामा सुधार आएको छ । कतिपयले अलैंची बिक्रीको आम्दानीले सहर बजारमा घरजग्गा खरिद गरेका छन् । धान उत्पादन हुने उर्वर सिमसार खेतमा समेत किसानले अलैंची लगाउन थालेका छन् ।

भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा अलैंची उत्पादन गरिँदै आएको छ । किसानमा अलैंची खेती गर्ने विधि, बेर्ना रोप्ने, गोडमेल गर्ने, टिप्ने, सुकाउने र भण्डारण गर्ने उपयुक्त विधिको ज्ञानको भने अभाव छ । अलैंची टिप्ने मजदुरको समेत अभाव छ । प्रायः सबै गाउँलेको अलैंची बगान छ । आफ्नो बगानमा आफैंले टिप्न सकिँदैन । समयमै टिप्न नसक्दा जंगली जनावरले पाकेको फल खाइदिने समस्या छ । त्यसैले समयमै टिपेर भित्र्याउनुपर्छ । खेताला पाउन छोडेपछि टिप्न समस्या भएको फक्ताङलुङ गाउँपालिका–५ का किसानकुमार राई बताउँछन् ।

‘खेताला पाउनै गाह्रो छ । गाउँभरि पैसा बोकेर जाँदा पनि खेताला खोज्दा पाइँदैन । सबैलाई आफ्नै बगानमा टिप्न भ्याइनभ्याई छ,’ उनले भने । युवा वैदेशिक रोजगारीमा गएकाले पनि खेताला पाउन मुस्किल भएको सिदिङवा गाउँपालिका–४ की अनिता लिम्बुले बताइन् । केही वर्ष अघिसम्म सीमित क्षेत्रमा मात्र अलैंची खेती गरिन्थ्यो । पछिल्लो समय अलैंचीको बिक्री र मूल्य बढ्दै गएपछि खेती विस्तार हुन थालेको हो । अलैंचीको बजार मूल्य एक लाख २० हजार रुपैयाँसम्म पुगेको इतिहास छ ।

प्रकाशित मिति: १५:३६ बजे, शनिबार, कात्तिक २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्