चन्दा संकलनबाटै सभाहल निर्माण
बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सयजना क्षमताको सभाहल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो ।
म्याग्दी, कात्तिक२० : बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सयजना क्षमताको सभाहल निर्माण गरिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि उक्त सभाहल निर्माण गरेको हो ।
खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले ३५ लाख रुपैयाँ चन्दा संकलन गरेर सभाहल निर्माण गरिएको जानकारी दिए । उनका अनुसार संस्थाका पदाधीकारी र सदस्यबाट जुटेको रकमले भवन तयार भएको हो ।
झण्डै २९ आना क्षेत्रफलको जग्गामा सभाहल र शौचालय निर्माण गरिएको छ । सभाहल परिसरमा पर्खाल लगाएर घेराउ गरिएको छ । रङरोगन, फर्निचर, बिजुली, पानी जडानलगायत काम बाँकी छ । निर्माणको काम गत असारमा थालिएको हो । आगामी पुसभित्र सबै काम सम्पन्न हुने श्रेष्ठले बताए ।
सभाहल निर्माणका लागि स्व. चन्द्रशेखर श्रेष्ठको परिवारले चार आना र स्व. काशीप्रसाद श्रेष्ठको परिवारले पाँच आना जग्गा उपलब्ध गराएका थिए । थप २० आना जग्गा खरिद गरिएको हो । नेपाल संवत ११४२ का अवसरमा अमेरिकामा रहेका दलप्रसाद श्रेष्ठ र पुष्पा श्रेष्ठले तीन लाख ३३ हजार तथा तारा श्रेष्ठ जोशी र कृष्णबाबु जोशीले सभाहल निर्माणका लागि एक लाख १५ हजार उपलब्ध गराएका छन् ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
