Kathmandu Press

दिदीबहिनी र दाजुभाइबीच सम्बन्ध गाढा बनाउने ‘भाइटीका’का कथाहरू

यमराज आयु सकिन आँटेका एक भाइलाई लिन आएका थिए। त्यही बेला दिदीले ती आयु सकिएका भाइलाई पूजा गर्न आँटेकी थिइन्। दिदीले यमराजसँग बिन्ती गरिन्, ‘भाइटीका गरिसकेपछि मण्डपको तेल नसुकेसम्म, ओखर पानीमा भिजाएर बोट नउम्रेसम्म र सुपारीफूलको माला नसुकेसम्म मेरो भाइलाई नलैजानू।’
दिदीबहिनी र दाजुभाइबीच सम्बन्ध गाढा बनाउने ‘भाइटीका’का कथाहरू

काठमाडौं, कात्तिक २० : आज भाइटीका । भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध सुमधुर बनाउने पर्व हो । यो पर्वलाई विश्वमै सुन्दर पर्वका रूपमा हेरिन थालिएको छ ।

यो पर्व कहिलेदेखि सुरु भयो होला भनी यकिनका साथ भन्न सकिन्न । तर, यसबारे विभिन्न प्रचलित लोककथा तथा पौराणिक कथा रहेकाले यसलाई निकै पुरानो मान्न सकिन्छ ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार, यमपञ्चकको पाँचौँ दिन अर्थात् भाइटीकाको दिन यमुनाले आफ्ना भाइ यमराजलाई ‘भाइपूजा’ गरेको अनुश्रुति छ । जोशी आफ्नो पुस्तक नेपाली चाडपर्वमा लेख्छन्, ‘एकचोटि यमुनाले भाइकहाँ भेट गर्न जाँदा यसो भनिन्, ‘भाइ ! तिमी जहिले पनि काममा व्यस्त छौ । एक दिन मेरो घरमा खाना खान त आऊ ।’

Hardik ivf

दिदीको धेरैपटकको अनुरोधपछि एक दिन यमराज दिदी यमुनाका घर पुगे । भाइ आउनेबित्तिकै हर्षित भई भाइको ठूलो स्वागतसत्कार गरी भोजन गराइन् । त्यो दिन यमराज यति खुसी भए कि उनले दिदीलाई अनेक उपहार दिँदै भने, ‘दिदी, मसँग अरु थोक जे चाहिन्छ, त्यो माग्नुस् ।’

भाइले देखाएको माया र आत्मीयताबाट प्रभावित भएकी यमुनाले भनिन्, ‘भाइ आजको यो कात्तिक शुक्ल द्वितीयाको दिनको नाम नै यमद्वितीया होस् । आजका दिन जसरी मैले तिम्रो स्वागत सत्कार गर्न पाएँ, तिमीलाई भोजन गराउन पाएँ, यो परम्परा अरु दिदीबहिनीका लागि पनि कायम रहोस् ।’

यमले ‘तथास्तु’ भने । यसरी भाइटीकाको परम्परा कायम भयो ।

संस्कृतिविद् चुन्दा बज्राचार्यका अनुसार, विभिन्न वंशावलीमा यमराजले आफ्नो काम छोडी आफ्नी बहिनी यमुनाको घरमा पाँच दिन बस्न आएकाले उनको यो पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने उल्लेख गरेको पाइन्छ । त्यसो भएकाले यी पाँच दिनसम्म यमराजले कसैलाई लिन आउँदैनन् भन्ने चलन छ ।

उनका अनुसार, भाइटीकाबारे एउटा कथा यस्तो छ । पहिले कुनै समयमा कात्तिक शुक्ल द्वितीयाको दिन मनुष्यहरूले पनि भाइटीका गरी, भोजन खुवाई रमाइलो गर्न सकून् भनी यमुनाले यमराजसँग निवेदन गरिन् । यमराजले ‘तथास्तु’ भनी वर दिए । त्यसपछि यस पूजाको परम्परा अगाडि बढ्यो । उक्त दिन यमुनाले यमराजलाई पूजा गरेझैं मानिसहरूले पनि भाइपूजा गर्ने परम्परा चलेको हो ।

बज्राचार्यका अनुसार, भाइटीकाबारे समाजमा अर्काे पनि एउटा लोककथा प्रचलित छ । यमराज आयु सकिन आँटेका एकजना भाइलाई लिन आएका थिए । त्यसबेला दिदीले ती आयु सकिएका भाइलाई पूजा गर्न आँटेकी थिइन् । दिदीले यमराजसँग बिन्ती गरिन्, ‘भाइटीका गरिसकेपछि मण्डपको तेल नसुकेसम्म, ओखर पानीमा भिजाएर बोट नउम्रेसम्म र सुपारीफूलको माला नसुकेसम्म मेरो भाइलाई नलैजानू ।’ भाइ सँगसँगै यमराज र उनीसँग आएका दूतहरूलाई समेत पूजा गरिदिएकाले यमराज खुसी भई उनका भाइलाई छाडेर जान्छन् । यस किसिमले दिदीले भाइको लामो आयुको कामना गर्दै मृत्युबाट मुक्त गरिन् भन्ने लोककथा पाइन्छ ।

बज्राचार्य भन्छिन्, ‘भाइटीकाबारे जेसुकै व्याख्या भए पनि दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा गर्दै आएका हुन् ।’

सांस्कृतिक र पारिवारिक महत्त्व

समाजशास्त्री मीना उप्रेतीका अनुसार, भाइटीकालाई विभिन्न कोणबाट हेर्न सकिन्छ । १) सांस्कृतिक पाटो। जुन धर्म–संस्कार, परम्परासँग सम्बन्धित छ । २) पारिवारिक पाटो– जसमा पारिवारिक सम्बन्धको महत्त्व र भूमिका छ । हामी हरेक चाडपर्वमा परिवार मिलेर मनाउँछौँ । केही चाडबाड परिवारका सदस्यसँग सम्बन्धित छ । जस्तो ः दशैंमा ठूलाबडासँग आशीर्वाद लिन्छौं । तिहारमा दिदीबहिनीबाट भाइटीका गरिन्छ । आमाको मुख हेर्ने, बुबाको मुख हेर्ने, तीज आदि ।

उनी भन्छिन्, ‘यसरी तिहार (विशेषतः भाइटीका)को सांस्कृतिक र पारिवारिक महत्त्व छ । भाइटीका र दिदी बहिनीको के सम्बन्ध छ भने, पुराना पुस्तामा छोरीहरू विवाह गरेर धेरै टाढा जान्थे । उनीहरू आउने बाटो खुला गरिएको मान्यता छ । साथै, दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध, मिलन, मायाममताका लागि यो पर्वको विशेष महत्त्व छ ।’

भाइटीका एउटै रक्त सम्बन्धबाट जोडिएका व्यक्ति बसेर मनाइने चाड भएकाले यसको छुट्टै सामाजिक महत्त्व रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, कात्तिक २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्