पोखरामा कलाकार संघको देउसीभैलो
पोखरा सांगीतिक कलाकार संघले तिहारमा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै गएको भन्दै यसलाई जोगाउन पहल गरेको छ ।
कास्की, कात्तिक २० : पोखरा सांगीतिक कलाकार संघले तिहारमा खेलिने देउसीभैलोको मौलिकपन हराउँदै गएको भन्दै यसलाई जोगाउन पहल गरेको छ ।
बजारमा रेकर्ड गरिएका गीतमा नाचगान गर्दै देउसीभैलो खेल्न थालेर मौलिक संस्कृति हराउँदै जाने देखिएकाले त्यसलाई अन्त्य गर्न कलाकारले आफैँ गाउँदै र नाच्दै पोखराका विभिन्न ठाउँमा भैलो खेलेका हुन् ।
देउसीभैलो कार्यक्रमको नेतृत्व संघका अध्यक्ष सुनिल थापाले गरेका छन् । उनको समूहमा आनन्दराज बज्राचार्य, शान्तराज बज्राचार्य, भाइ गुरुङ, भाष्करध्वज श्रेष्ठलगायत छन् । समूहलाई पोखराको चर्चित हिमाली सांस्कृतिक परिवारका सदस्यहरूले साथ दिएका छन् ।
मौलिकता हराउँदै गएकाले आफूहरूले संरक्षणका लागि भैलो खेलेको संघका अध्यक्ष थापाले बताए । ‘हिजोआज अर्काको रेकर्डेड गीत पेनड्राइभबाट बजायो, नाच्यो, सकियो । यसबाट हाम्रो मौलिक संस्कृति लोप हुँदैछ । यसलाई बचाउन हामीले आफँै गाउने, आफैँले बाजा बजाउने र आफैँ नाच्दै देउसीभैलो खेलिरहेका छौँ,’ उनले भने ।
पोखराका गैह्रपाटन, चिप्लेढुंगा, विरौटालगायत स्थानमा भैलो खेलेको संघले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने सोचाइमा रहेको र संकलित रकम कोषमा राखेर कलाकारलाई कुनै समस्या पर्दा खर्च गरिने बताएको छ ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
