चाडपर्वको विकृति रोक्दै मौलिकता जोगाऔँ : उपराष्ट्रपति

काठमाडौं, कात्तिक २० : उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्वमा देखिएको विकृतिलाई रोक्दै मौलिकता जोगाउनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन्।
उज्यालो र उल्लासको पर्व तिहारका अवसरमा शुभकामना सन्देश दिँदै उनले पछिल्ला समय चाड पर्व मनाउने क्रममा विकृति पनि देखा पर्न थालेकामा चिन्ता व्यक्त गरेका छन्।
सबै खाले चाड पर्वको संरक्षण र संवर्द्धन गर्नु सबैको दायित्व रहेको उपराष्ट्रपतिको भनाइ छ। उपराष्ट्रपतिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभामा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
'बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश विविध धर्म, संस्कार संस्कृतिले अत्यन्त धनी छ । विविधतायुक्त धर्म, संस्कार संस्कृतिले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएका छन्,' सन्देशमा उनले भनेका छन्, 'महान् चाड तिहारले नेपालीकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा विश्वस्त छु।'
जनताको लामो सङ्घर्षपछि देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक परिवर्तन प्राप्त भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले यी परिवर्तनलाई संविधानले संस्थागत गरेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नती र समृद्धिको मार्गमा रहेको बताएका छन्।
उनले संविधानको पूर्णपालनसँगै राजनीतिक स्थायित्व, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई उर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
