नेमारका लागि बार्सिलोना र रियलको प्रस्ताव पीएसजीले गर्यो अस्वीकार
काठमाडौं, साउन ३० : ब्राजिलियन स्टार खेलाडी नेमारलाई भित्र्याउन दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्ताव पेरिस सेन्ट जर्म....
काठमाडौं, साउन ३० : ब्राजिलियन स्टार खेलाडी नेमारलाई भित्र्याउन दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्ताव पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अस्वीकार गरेको छ।
पीएसजी छोड्ने इच्छा व्यक्त गरेपछि नेमारलाई भित्र्याउन बार्सिलोना र रियल मड्रिडबीच प्रतिस्पर्धा चलिरहेको छ।
बार्सिलोनाले नेमारलाई पुनः क्लबमा भित्र्याउन ब्राजिलियन खेलाडी फिलिप काउटिन्होसहित १०० मिलियन युरोको प्रस्ताव पीएसजीलाई गरेको छ। त्योसँगसँगै इभान राकिटिकलाई पनि दिन सकिने बार्सिलोनाले प्रस्ताव अघि सारेको छ।
यस्तै, रियल मड्रिडले नगदसहित ग्यारेथ बेल र जेम्स रोड्रिग्वेजलाई दिने प्रस्ताव पीएसजीसामू राखेको छ। तर, पीएसजीले रियल मड्रिडसँग ब्राजिलियन युवा खेलाडी भिनिसियस जुनियर मागेको छ। रियलले भिनिसियसलाई नेमार भित्र्याउनका लागि पीएसजीलाई प्रस्ताव गरेको छैन।
दुवै स्पेनिस क्लब बार्सिलोना र रियलको प्रस्ताव पीएसजीले अस्वीकार गरेको छ। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पीएसजीले भिनिसियस जुनियर क्लबमा भित्र्याएर नेमारलाई रियल मड्रिडलाई भित्र्याउन चाहेको बताइएको छ।
तर, यो कुराको टुंगो भने लागि सकेको छैन।
नेमार बार्सिलोनाबाट २०१७ मा विश्वकै महँगो फुटबलरका रुपमा २२२ मिलियन युरोमा पीएसजी आएका थिए। दुई सिजन पीएसजीमा बिताएपछि भने नेमारले क्लब छोड्ने इच्छा व्यक्त गरिरहेका छन्। नेमारले पीएसजीका लागि दुई सिजनमा ३४ गोल गरेका छन्।
यसअघि पीएसजीका समर्थकले लिग वान अन्तर्गत निम्ससँगको खेलका क्रममा ‘नेमार छोडेर टाढा जाऊ’ भन्दै ब्यानरसहित नाराबाजी गरेका थिए।