भत्ताको रकम खेलकुद सामग्रीमा
शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गरेका छन् । उनले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फुटबल र भलिबलका सामग्री उपलब्ध गराएका हुन् ।
कञ्चनपुर, कात्तिक १९ : शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले बैठक भत्ताको रकमबाट युवालाई खेलकुदका सामग्री खरिद गरी हस्तान्तरण गरेका छन् । उनले नगरपालिकाको कार्यपालिका बैठकबाट प्राप्त भत्ताको रकम जम्मा गरी क्रिकेट, फुटबल र भलिबलका सामग्री उपलब्ध गराएका हुन् ।
भत्ताको १३ हजार ४७० र अपुग २० हजार रुपैयाँ व्यवस्था गरी खेलकुद सामग्री उपलब्ध गराइएको उनले जानकारी दिए । ‘वडाका युवाको रुचिअनुसारका खेलकुद सामग्री उपलब्ध गराएका छौँ,’ उनले भने, ‘अझै खेलकुदप्रति युवाको आकर्षण बढाउनका लागि वडाको बजेट परिचालन गर्छौँ ।’
युवामा खेलकुदप्रतिको रुचि बढ्दै गएपछि खेलकुद सामग्रीको अभाव हुन नदिन भत्ताको रकम खर्च गरेको उनको भनाइ छ । ‘जनप्रतिनिधि भनेको जनताले काम गर्नका लागि पठाएका व्यक्ति हुन्,’ उनले भने, ‘जनताको तिरोबाट उपलब्ध गराइएको भत्ताको रकम जनताकै असल कार्यका लागि खर्च गर्न पाउँदा खुशी लागेको छ ।’
नगरपालिकाबाट पाइने सुविधावापतको रकम अझै जनताकै लागि खर्च गर्ने आगामी योजना रहेको उने बताए । यसअघिसमेत वडाध्यक्ष महराले नगरपालिकाबाट पाइने भत्तावापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । साथै, उनी जुवातास नियन्त्रण, चेलीबेटी बेचबिखन र बालविवाह रोक्न वडामै सचेतना कार्यक्रममा संलग्न रहँदै आएका छन् ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
