सिंगापुरमा हात्तीको दाँत किनबेचमा प्रतिबन्ध लगाइने
सिंगापुर, साउन ३० : सिंगापुरले सन् २०२१ देखि हात्तीको दाँत र त्यसबाट बनेका उत्पादनको विक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ।
गैरस....
सिंगापुर, साउन ३० : सिंगापुरले सन् २०२१ देखि हात्तीको दाँत र त्यसबाट बनेका उत्पादनको विक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ।
गैरसरकारी समूह, हात्तीको दाँतका खुद्रा विक्रेता र सर्वसाधारणसँग दुई वर्षको छलफलपछि विश्व हात्ती दिवसका दिन सिंगापुरले वन्यजन्तुको गैरकानूनी कारोबारविरूद्धको अभियानमा कडाइ गर्ने उद्देश्यका साथ विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
सिंगापुरका अधिकारीले गत महिना हात्तीको दाँत हालसम्मकै सबैभन्दा ठूलो परिमाणमा जफत गरेका छन्। अनुमानित तीन सय अफ्रिकी हात्तीका करिब ९ टन दाँत उनीहरूले जफत गरेका हुन्। यसको मूल्य एक करोड २९ लाख अमेरिकी डलर तोकिएको छ।
उक्त गैरकानूनी कार्गो कंगोबाट सिंगापुर हुँदै भियतनाम निर्यात गर्ने क्रममा भेटिएको हो। त्यसमा सालकको खपटा पनि ठूलो परिमाणमा फेला परेको छ। सिंगापुरले सन् १९९० देखि सबै प्रकारका हात्तीका दाँतको उत्पादनको अन्तर्राष्ट्रिय कारोबार निषेध गरेको छ।
सन् १९९० भन्दा अघि नै वा लोपोन्मुख प्रजातिको सुरक्षा गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बन्धित हात्तीका प्रजाति समावेश हुनुअघि नै हात्तीका दाँत आयात गरेको व्यापारीले प्रमाणित गर्नसके यसता सामग्री घरेलु रूपमा बेचबिखन गर्न सकिन्थ्यो।
सिंगापुरको नेसनल पार्क्स बोर्डले सेप्टेम्बर १, २०२१ देखि लागू हुने गरी हात्तीका दाँत र त्यसबाट बन्ने उत्पादनमा प्रतिबन्ध लगाइएको वक्तव्यमा उल्लेख छ।
दोषी करार भए नियमको उल्लङ्घन गर्नेलाई एक वर्षसम्मको कैद सजाय हुनसक्छ। निषेध लागू भएपछि व्यापारीले जम्मा गरेको हात्तीक दाँत संस्थाहरूलाई अनुदान दिन सक्ने वा आफैंसँग राख्नसक्ने बोर्डले जनाएको छ।
पोहोर साल सरकारले गरेको सार्वजनिक छलफल अनुसार ९९ प्रतिशतले हात्तीको दाँतको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए। काइँयो, पेन्डेन्ट र अन्य गहनाको रूपमा प्रयोग गर्न मिल्ने भएकाले हात्तीको दाँतको माग अत्यधिक छ।
बीसौं शताब्दीको मध्यदेखि लाखौंको संख्याम रहेको अफ्रिकी हात्तीको संख्या सन् १९८० को दशकमा करिब ६ लाख पुगेपछि दुर्लभ अपवादबाहेक हात्तीको विश्वव्यापी कारोबारलाई गैरकानूनी मान्यता दिइएको छ।