फोहाेर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई
गोरखा, कात्तिक १८ : गोरखा नगरपालिकाले नगरक्षेत्रभित्रका फोहाेर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको छ। नगर क्षेत्रभित्रका फोहाेर सङ्कलन गर्ने र त्यसको व्यवस्थापन गर्नेलगायतका सबै...
गोरखा, कात्तिक १८ : गोरखा नगरपालिकाले नगरक्षेत्रभित्रका फोहाेर व्यवस्थापन गर्ने जिम्मा निजी क्षेत्रलाई दिएको छ।
नगर क्षेत्रभित्रका फोहाेर सङ्कलन गर्ने र त्यसको व्यवस्थापन गर्नेलगायतका सबै जिम्मेवारी क्लिन गोरखा प्रालि नामक संस्थालाई दिएको नगरपालिकाका वातावरण अधिकृत ध्रुव घिमिरेले जानकारी दिए। ‘अबदेखि नगरपालिकाभित्रका १४ वटै वडाको फोहाेर सङ्कलन गर्ने काम सो संस्थाले गर्छ,’ उनले भने, ‘सो संस्थाले नै नगरवासीसँग फोहाेर व्यवस्थापनको शुल्क लिनेछ।’
संस्थाले नगरपालिकामा रु. दुई लाख धरौटी राखेर फोहाेर सङ्कलनको काम सुरु गरिसकेको अधिकृत घिमिरेले जानकारी दिए। ‘सम्झौताअनुसार धरौटी रकम राखेर अहिले काम सुरु गरिएको छ,’ उनले भने, ‘सम्झौता लागू भएको ६ महिनासम्म सरसफाइ शाखामा कार्यरत सातजना कर्मचारीलाई सो संस्था र नगरपालिकाले आधाआधा तलब खुवाउने र पछि संस्था स्वयंले नै तलब खुवाउनुपर्नेछ।’
नगरपालिकाले प्रयोग गर्दै आएको फोहाेर उठाउने एउटा ट्याक्टर र टिपर समेत एक वर्षका लागि सो संस्थालाई प्रयोग गर्न दिने र त्यसपछि निर्धारण गरे अनुसारको मासिक भाडा नगरपालिकालाई बुझाउने गरी सम्झौता भएको उनले बताए।
मापदण्डभित्र रहेर नै फोहाेर व्यवस्थापनका लागि शुल्क उठाउने अधिकृत घिमिरेले जानकारी दिए। नगरपालिकाले सो संस्थासँग पाँच वर्षका लागि फोहर व्यवस्थापन सम्झौता गरेको उनको भनाइ छ। फोहाेर व्यवस्थापन शुल्कबापत नगरवासीले सदस्यता शुल्कबापत रु. २०० तिर्नुपर्ने हुन्छ।
यसका साथै निजी तथा व्यक्तिगत प्रयोजनका प्रतिघर÷परिवारका लागि मासिक रु. १००, चिया पसल र फुटफाथ पसलका लागि रु. १५०, व्यावसायिक पसल र वित्तीय सङ्घ संस्थाका लागि रु. २००, रेष्टुराँ, मासु, तरकारी, फलफूल पसल, सैलुन, ब्युटिपार्लरका लागि रु. ३०० शुल्क बुझाउनुपर्ने जनाएको छ।
त्यस बाहेक मोटरसाइकल ग्यारेज, लजसहितको सामान्य होटल, क्लिनिकको समान्य फोहाेर भएकाले मासिक रु ५००, गाडी ग्यारेज, लजसहितको ठूला होटलले मासिक रु एक हजार तथा हस्पिटल, नर्सिङहोमले मासिक रु दुई हजार शुल्क बुझाउनुपर्ने उल्लेख छ।
घरबाट निस्कने कवाडी सामग्रीसमेत उचित मूल्य दिएर प्रालिले खरिद गर्ने भएकाले बाहिरबाट आउने व्यक्तिलाई बिक्रीवितरण नगर्न समेत आग्रह गरेको छ। यसअघि नगरपालिका आफैले नगरक्षेत्रभित्रको फोहाेर व्यवस्थापन गर्दै आएको थियो।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
