Kathmandu Press

नुवाकोटको झिल्टुङमा कुञ्जिनी उद्यान निर्माण गरिने

नुवाकोट, कात्तिक १८ : महाकवि लक्ष्मीप्रसाद देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेको स्थल नुवाकोटको झिल्टुङमा कुञ्जिनी उद्यान निर्माण गरिने भएको छ । बेलकोटगढी नगरपालिका–५ झिल्टुङ खड्काछापमा...
नुवाकोटको झिल्टुङमा कुञ्जिनी उद्यान निर्माण गरिने

नुवाकोट, कात्तिक १८ : महाकवि लक्ष्मीप्रसाद देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेको स्थल नुवाकोटको झिल्टुङमा कुञ्जिनी उद्यान निर्माण गरिने भएको छ । 

बेलकोटगढी नगरपालिका–५ झिल्टुङ खड्काछापमा साहित्यप्रेमीको साहित्यिक धामका रुपमा विकास गर्ने योजनासाथ कुञ्जिनी उद्यान निर्माण गरिन लागिएको हो ।  

Hardik ivf

बेलकोटगढी नगरपालिकाले पार्क निर्माणका लागि चालू आर्थिक वर्षमा रु. पाँच लाख बजेट विनियोजन गरेर काम अघि बढाइएको महाकवि देवकोटा साहित्य प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले जानकारी दिए। 

११३औं लक्ष्मी जयन्तीको अवसरमा हिजो बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले कुञ्जिनी उद्यानको शिलान्यास गर्दै यो उद्यानलाई पूर्णता दिनका लागि विनियोजित बजेट कम हुने भएकाले यसमा थप गर्न सकिने बताए। 

उनले महाकवि देवकोटाले यो क्षेत्रमा आएर खण्डकाव्य लेखी संसारलाई नै चिनाएको सम्झनाका लागि यसलाई साहित्यिक धामका रुपमा विकास गर्न नगरपालिका इच्छुक रहेको बताए। बेलकोटगढी नगरपालिका–५ का वडाध्यक्ष अनन्तराम नेपालले व्यवस्थित सडक निर्माण गरेर कञ्जिनी उद्यानमा आउन सहज बनाउनुपर्ने र गाउँ छाडेर गएका स्थानीयवासीलाई आफ्नै थलोमा फर्काएर यो क्षेत्रको विकास गर्नुपर्ने बताए। 

महाकवि देवकोटाले १९९७ सालमा झिल्टुङस्थित मामा ससुराली आएको बेलामा कुञ्जिनी खण्डकाव्य लेखेका थिए। देवकोटाले कुञ्जिनीको साथमा पहाडी जीवन निबन्ध पनि झिल्टुङको परिवेशमा लेखेकाले यसलाई चिनाउन कुञ्जिनी उद्यानको निर्माण थालिएको उद्यान निर्माणका अभियन्ता नारायण नेपालले बताए।

सो अवसरमा देवकोटा सम्मान र विद्यालयस्तरीय कविता प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा ११ वर्षदेखि रूपायन साहित्यिक पत्रिका प्रकाशन गरेर जिल्लाको साहित्यिक पत्रकारितालाई योगदान पु¥याएको भन्दै नवदीप श्रेष्ठ र जिल्लामा साहित्यिक गतिविधि आयोजना गरी योगदान दिएको भन्दै साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीलाई सम्मान गरिएको थियो।

यस्तै, कविता प्रतियोगितामा महादेव माविकी बबिना लामिछाने पहिलो, कामरु माविका प्रवीना नेपाल दोस्रो, गौलिङ्गेश्वर माविकी प्रतिमा सुवेदी तेस्रो र मालिका माविकी सुस्मिता नेपाल सान्त्वना हुनुभएको थियो।

प्रकाशित मिति: १४:४० बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्