Kathmandu Press

काठमाडौंको गोकर्णेश्वरमा मुन्धुम घर बन्ने

खोटाङ, कात्तिक १८ : किराँत राई समुदायअन्तर्गत पर्ने नाछिरिङ राईहरूको रिदुम खिम (मुन्धुम घर) काठमाडौंमा निर्माण गरिने भएको छ।काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा...
काठमाडौंको गोकर्णेश्वरमा मुन्धुम घर बन्ने

खोटाङ, कात्तिक १८ : किराँत राई समुदायअन्तर्गत पर्ने नाछिरिङ राईहरूको रिदुम खिम (मुन्धुम घर) काठमाडौंमा निर्माण गरिने भएको छ।

काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाको गोकर्ण उत्तरगयामा निर्माण गरिने रिदुम खिम (मुन्धुम घर) को थ्रिडी नक्सासमेत सार्वजनिक गरिएको छ।

रु.  २ करोड २८ लाख ५४ हजार ९२५ को लागतमा साढे तीनतले रिदुम खिम आगामी मङ्सिर पहिलो साता शिलान्यास गरेर निर्माणको काम थाल्ने तयारी गरिएको किराँत रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकलबहादुर नाछिरिङले जानकारी दिए।

Hardik ivf

‘रिदुम खिम निर्माणका लागि हालसम्म नाछिरिङ तथा गैर–नाछिरिङबाट रु २० लाख ३७ हजार र गोकर्णेश्वर नगरपालिकाबाट रु १५ लाख प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘किराँत नाछिरिङ राईको सामुदायिक हित, भाषा, संस्कार, संस्कृति, विकास, संरक्षण एवं प्रवद्र्धनका लागि रिदुम खिम निर्माण गर्न लागिएको हो।’

नाछिरिङ राई भाषाको कक्षा ३ को पाठ्यपुस्तक विमोचनको अवसर पारेर रिदुम खिमको थ्रिडि नक्सा सार्वजनिक गरिएको किराँत रदु नाछिरिङ साखामले जनाएको छ। सोही भवन निर्माणका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट रु २० लाख सहयोगको प्रतिबद्धता जुटेको केन्द्रका उनले बताए। 

देश–विदेशमा छरिएर रहेका नाछिरिङ समुदाय तथा व्यक्तिबाट चन्दा एवं सहयोग रकम जुटाएर दुई वर्षभित्र निर्माणको सम्पूर्ण काम पूरा गरेर रिदुम खिम सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ। रिदुम खिम निर्माणका लागि रु ७५ लाख ७५ हजारमा छ आना जग्गा खरिद गरिसकिएको छ।

मूल घरको चुल्हामा मान्दै आइएको परम्परागत संस्कार–संस्कृतिलाई उपत्यकामै बसेर निरन्तरता दिने वातावरण बनाउन रिदुम खिम निर्माणको अवधारणा अघि सारिएको साखाम केन्द्रका उपाध्यक्ष कमलकुमारी नाछिरिङले जानकारी दिए।

‘रिदुम खिममा जन्म, मृत्यु, विवाह, छेवरलगायतका संस्कार गर्दै नाछिरिङ राईको भाषिक, संस्कार, संस्कृतिको एकीकरण गर्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘रिदुम खिमले संसारभर छरिएर रहेका नाछिरिङ राईलाई सङ्गठित गर्नेसमेत अपेक्षा गरिएको छ।’

सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिका तथा खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राई समुदायको सघन बस्ती रहेको छ। यसबाहेक सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडालगायतका देशमा समेत नाछिरिङ राईको बसोबास रहेको खोटाङमा क्रियाशील पत्रकार दमन नाछिरिङ राईले जानकारी दिए। 

२०६८ सालको जनगणनाअनुसार पूर्वी नेपालमा नाछिरिङ भाषा बोल्ने १० हजार ४१ जना मात्र जनसङ्ख्या रहे पनि २०७६ देखि सोलुखुम्बु र खोटाङका पाँच÷पाँचवटा विद्यालयमा नाछिरिङ भाषाको पठनपाठन सुरु गरिएको थियो।

लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहासलगायतको संरक्षण एवं संवद्र्धनको लक्ष्यका साथ आफ्नै भाषामा पाठ्यपुस्तक तयार पारेर पठनपाठन सुरु गरिएको साखामले जनाएको छ। 

उदयपुर जिल्लामा पनि नाछिरिङ भाषामा पठनपठनको तयारी भइरहेको साखामका महासचिव गान्दीभ किराँतीले जानकारी दिए। स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठनपाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्य रहेका ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठनपाठन सुरुआत गरिएको हो।

प्रकाशित मिति: १३:०१ बजे, बिहीबार, कात्तिक १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्