भारतद्वारा अतिक्रमित जग्गा फिर्ता गर्न कूटनीतिक पहल गर्नुपर्छ: भीम रावल
काठमाडौं, साउन २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीमबहादुर रावलले नेपालको ठूलो भू–भाग भारतको अतिक्रमणमा परेकाले समयमै कूटनीतिक ....

काठमाडौं, साउन २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीमबहादुर रावलले नेपालको ठूलो भू–भाग भारतको अतिक्रमणमा परेकाले समयमै कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेका छन्।
संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा उनले विशेषज्ञहरुका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू–भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सीमा विवाद देखिएको र दशगजाका विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने काम भइरहेको दाबी गरे।
सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको र पानीको प्राकृतिक बहाव रोकिने गरी संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा वर्षेनी ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको उनको भनाइ छ। उनले सीमा विवाद सुल्झाएर अतिक्रमण रोक्नु पर्ने बताए।
बैठकमा नेपाल भारत सीमा विवाद, अतिक्रमण तथा डुबान लगायत समस्याबारे समितिका सदस्यहरुले तत्काल कुटनीतिक पहल गरी डुबान लगायत समस्याको दीर्घकालीन समाधान खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

-1784896419.png)









