मेलम्चीको काम द्रूत गतिमा अघि बढाउन खानेपानीमन्त्री मगरको निर्देशन
काठमाडौं, साउन २९ : खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रूत गतिमा अघि बढाएर निर्धारित समयमै काम सक्न निर्देशन दिएकी छिन्।....

काठमाडौं, साउन २९ : खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रूत गतिमा अघि बढाएर निर्धारित समयमै काम सक्न निर्देशन दिएकी छिन्।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टोलीसँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री मगरले खानेपानी आयोजनाको काम समयमै सक्ने गरी अघि बढाउन निर्देशन दिएकी हुन्। उनले खानेपानी विकास समितिका कार्यकारी निर्देशक कँडेलसहितको टोलीलाई आयोजनास्थलमै खटेर मेलम्ची आयोजनाको काम तत्काल अघि बढाउन निर्देशन पनि दिइन्।
आयोजनाका प्रमुख, समितिका अन्य पदाधिकारी र डिभिजनल इन्जिनियरहरुसहितको टोलीलाई आयोजनास्थलमा खटाउने र आयोजनामा देखिएको अन्यौल हटाउँदै अघि बढ्न मन्त्री मगरले निर्देशन दिएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
मेलम्ची आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय ठेकेदार तथा भेण्डरहरुले दाबी गरेको रकमका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एउटा समिति पनि बनाइएको छ।
आयोजनाका प्रमुख कँडेलले हेडवक्र्स र सुरुङ फिनिसिङ जस्ता ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिएका थिए। उनले अहिले नदी संरक्षण र सुरुङभित्र भेन्टिलेसन साफ्टको काम भइरहेको पनि बताएका थिए।

-1784896419.png)









