टाउको र पेटमा पानी जमेका बालकको उपचारमा बनेपाका युवाको सहयोग अभियान
काठमाडौं, कात्तिक १७ : तीन महिनाका एक बालकको टाउको र पेटमा जमेको पानीको शल्यक्रियाका लागि काभ्रेका युवा गायकहरूको एक समुहले आर्थिक सहयोग उठाउँदै आएको...
काठमाडौं, कात्तिक १७ : तीन महिनाका एक बालकको टाउको र पेटमा जमेको पानीको शल्यक्रियाका लागि काभ्रेका युवा गायकहरूको एक समुहले आर्थिक सहयोग उठाउँदै आएको छ ।
उक्त बच्चाको शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेपछि सो समुहले सहयोगका लागि बनेपाको विभिन्न सडक, पेटीमा सांगीतिक कार्यक्रम गरेर दुई दिनमा एक लाखभन्दा बढी रकम जम्मा गरेको सोही समुहका गायक दिनेश कार्कीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
उनी लेख्छन् ‘नानीको लागि हजुरहरुको ठूलो सहयोगले गर्दा हामीले बनेपा बजारको बिभिन्न सडक पेटिमा सानो सांगीतिक कार्यक्रम गरेका थियौँ त्यसबाट एक लाख ९ सय २५ रुपैयाँ उठाउन सफल भएका छौँ । र भोलि (बुधबार) म लगायत मेरो टिम धुलिखेल हस्पिटलमा यो रकम वितरण गर्दै छौं ।
बनेपा भोलाखा टोलकी रुस्मा शाहीले गत साउनमा काठमाडौं थापाथलीस्थित परोपकार तथा स्त्री रोग अस्पतालमा पहिलो बच्चालाई जन्म दिएकी थिइन् । जन्मेलगत्तै उनको टाउको र पेटमा पानी जमेको परीक्षणमा पाइएको थियो।

दसैं अगाडि करिब १० दिन बालकलाई धुलिखेल अस्पतालमा राखिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि चिकित्सकले घर पठाएका थिए । तर, फेरि समस्या आएपछि गत शनिबार पुनः धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले शल्यक्रियाका लागि करिब डेढ लाख खर्च लाग्ने बताएको थियो । भने अहिले उक्त बालकको सफल शल्यक्रिया भइसकेको रुस्माले जानकारी दिइन्।












![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
