Kathmandu Press

संकटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री खाँण

बझाङ, कात्तिक १७ : गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताएका...
संकटग्रस्त जिल्ला घोषणाका लागि पहल गर्छु : गृहमन्त्री खाँण

बझाङ, कात्तिक १७ : गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिराबाट ठूलो जनधनको क्षति भएको बझाङलगायत सुदूरपश्चिमका डडेल्धुरा र बैतडीलाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने बताएका छन्। 

बाढीपहिराका कारण भएको क्षतिको निरीक्षण गर्न बझाङको खप्तड छान्ना गाउँपालिकामा आउनुभएका मन्त्री खाँणले बाढीपहिराका कारण बझाङलगायत डडेल्धुरा र बैतडीमा ठूलो जनधनको क्षति भएकाले यी जिल्लालाई तत्कालै संकटग्रस्त जिल्ला घोषणा गरेर पूर्वाधार निर्माणमा जोड दिने बताएका हुन्। 

Hardik ivf

प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री खाँणले खप्तड छान्नाको ऐचेली बगरमा बाढीपहिराबाट प्रभावित स्थानीय नागरिकसँग क्षतिबारे छलफल गरे। उनले प्रधानमन्त्री विदेशबाट फर्कीसकेपछि मन्त्रिपरिषद्को निर्णयबाट बझाङ, बैतडी र डडेल्धुरा जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। 

उनले प्रभावित परिवारलाई प्रक्रिया पु¥याएर प्रमुख जिल्ला अधिकारीमार्फत तत्काल राहत उपलब्ध गराउने जानकारी दिए। बाढीपहिरापीडित नागरिकका लागि सरकारले तत्काल राहतका कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै उनले सरकार नागरिकसँगै रहेकाले सबैलाई धैर्य भएर बस्न आग्रहसमेत गरे। मन्त्री खाँणले बाढीपहिरामा परेर मृत्यु भएकाको परिवार र घरसमेत नष्ट भएका परिवारका लागि तत्कालै सरकारले प्रतिपरिवार रु ५० हजार दिने निर्णयसमेत गरिसकेकाले सो रकम लिनका लागि स्थानीयवासीलाई आग्रह गरे। 

कार्यक्रममा खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले पालिकामा भएको जनधनको क्षतिका बारेमा जानकारी गराएका थिए। प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जिल्लामा भएको क्षतिका बारेमा मन्त्री खाँणलाई जानकारी गराएका थिए। जिल्लाको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकामा भएको बाढीपहिराबाट भएको क्षतिबारे मन्त्री खाँणले निरीक्षण तथा अवलोकन गरेका थिए। 

गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म भएको बाढीपहिरोबाट जिल्लामा १२ जनाको मृत्यु भएको थियो भने १९ जना बेपत्ता भएका थिए। बाढीपहिरोबाट हजारौँ हेक्टर जमिन बगरमा परिणत हुनाका साथै झण्डै एक सयभन्दा बढी परिवार विस्थापित भएका छन्।   
 

प्रकाशित मिति: १६:४९ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्