छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, कात्तिक १७ : मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
जाजरकोटको नलगाड नगरपालिका–५ गाजीमेला भन्ने स्थानमा कर्णाली प्रदेश ०२ ००१ त ०२९४ नम्बरको ट्याक्टर भिरबाट करिब ३ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा ट्याक्टर चालक नलगाड नगरपालिका–७ दल्लि बस्ने ३५ वर्षीय चंखलाल बिक, ट्याक्टरमा सवार तारीगाउँ बस्ने २५ वर्षीय सुरेश खत्री र सोही ठाउँ बस्ने ६२ वर्षीय दल बहादुर खत्री रहेका छन्। दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालक नलगाड नगरपालिका–७ दल्लि बस्ने १७ वर्षीय बिनोद परियारलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ।
धादिङको धुनिबेसी नगरपालिका–१ ककरेस्थित सडकमा बा४ख ५८४८ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएर मंगलबार साँझ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीया साइँली तामाङ र ५५ वर्षीय रुमाल तामाङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मनमोहन अस्पताल स्वयम्भू काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अन्य सातजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बर्दियाको बढैयाताल गाउँपालिका(६ चपला नाला नजिक सडकमा ना६ख १२६० नम्बरको बसले साईकललाई ठक्कर दिँदा साईकलयात्री बढैयाताल गाउँपालिका–३ सतपतिया बस्ने ३७ वर्षीया सुनिता थारुको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
