तिहारलाई कोसेली ‘पाल्पाली ढाका’
रामपुर (पाल्पा), कात्तिक १७ : ‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’। प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको...
रामपुर (पाल्पा), कात्तिक १७ : ‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’। प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ।
पाल्पा भनेपछि ढाका कपडा सबैका मन मस्तिष्कमा छाएकै हुन्छ। अझ विशेषगरी चाडपर्वका समयमा पाल्पाली ढाकामा ग्राहकको आकर्षण बढ्छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई कोसेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामान दिने चलन छ। अहिले पाल्पाका ढाका पसलमा तिहारलाई सामान किनमेल गर्नेको उत्साह छ।
यस पटकको तिहारलाई पाल्पाली ढाका कपडाका सामग्री खरिद गरिसकेको बताउँछिन्, रमा पन्त। तानसेन नगरपालिका–२ बडिज्ञानटोल बस्ने पन्तले तिहार अर्थात् भाइटीका दिदीबहिनी र दाजुभाइका लागि विशेष पर्व भएकाले पनि कोसेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामग्री लैजाने गरेको बताइन्।
मानव अधिकार तथा शान्ति समाजका आजीवन सदस्यसमेत रहेकी उनले दाजुभाइका लागि ढाका टोपी, आस्कोट, दिदी (अमाजु दिदी) का लागि ढाकाका साडी, (बहिनीलाई ढाकाको कुर्ता सुरुवालको बन्दोबस्त गरिसकेकी छन्। ‘ढाका हाम्रो पाल्पाको पहिचान हो, तिहारमा कोसेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामग्री दिने गरेको छु, ढाकाका कपडा उपहारस्वरुप दिन पाउँदा धेरै आनन्द लाग्छ, बर्सेनि ढाकाकै कपडा दाजुभाइलाई दिने गर्छु, दाजुले पनि भरसक ढाका टोपीकै चाहना गर्नुहुन्छ,’ उनले भनिन्।
जिल्लाका विभिन्न कार्यक्रम, सभा, समारोह, पाल्पाभन्दा बाहिर विभिन्न कामको सिलसिलामा जाँदा पनि पाल्पाली पहिचान झल्कने ढाकाका पोसाक पहिरिने गरेको पन्तको भनाइ छ। नेपाली पहिचान ढाका टोपीको छुट्टै महत्व छ। त्यसैमा पनि पाल्पाली ढाका टोपी र यहाँ ढाका कपडाबाट तयार पारिएका विभिन्न सामग्रीहरु स्वदेशमा मात्र नभई विदेशमा पनि राम्रो पहिचान बनाएको छ।
त्यस्तै तानसेन नगरपालिका–६ बारुदखान बस्ने माया शर्माले काठमाडौंमा भाइटीका लगाउन ढाकाको आस्कोट, चोली, ब्याग लिएर जाँदै छन् । स्वदेशी उत्पादनलाई बढावा दिन, पाल्पाली ढाकाको प्रचारप्रसार पनि हुने भएकाले ढाका कपडाका सामग्री नै तिहारमा रोज्ने गरेको उनी बताउँछिन्। ‘पाल्पाको उत्पादन भनेपछि दाजुभाइले विशेष महत्वका रुपमा लिनुहुन्छ, पाल्पाली पहिचान र यहाँको व्यापार बढ्ने भएकाले पनि तिहारमा ढाका कपडा नै उपहारस्वरुप दाजुभाइलाई दिने गरेको छु,’ उनले भनिन्।
उनले हालै मात्र न्युजिल्यान्डमा बसोबास गर्ने छोरीका लागि पाँचवटा ढाकाको ब्याग, अमेरिकामा रहने दिदीहरु, आफन्तजनका लागि ढाकाका विभिन्न सामग्री पठाएकी छन्। तिहार अर्थात् भाइटीकाका लागि विशेषगरी ढाका टोपी, चोली, पछ्यौरा, कुर्ता सुरुवाल, पर्स जस्ता कपडा खरिद गर्न ग्राहकहरु आउने गरेको बताउँछिन्, व्यवसायी ज्ञानु कार्की । पाल्पाको पुरानो कार्की ढाका कपडा उद्योग चलाएकी कार्कीले धेरैजसोले यतिबेला तिहारलाई ढाका टोपी नै खोज्ने गरेको बताउँछिन्।
‘पहिला पहिला त रहरका रुपमा पनि ढाकाको टोपी तिहारलाई खरिद गर्ने गरे पनि अहिले कोभिडको असरले ढाका टोपी निरन्तर लगाउनेका लागि मात्रै ग्राहकले खोज्नुहुन्छ, पहिलेको तुलनामा व्यापार कम छ, तैपनि तिहारले चहलपहल बढाएको छ,’ उनले भनिन्।
कार्की ढाका उद्योग विगत २६ वर्षदेखि तानसेनमा सञ्चालित छ। सञ्चालक कार्कीका अनुसार हाल ढाका टोपीको मूल्य रु एक सयदेखि तीन हजार ५०० सम्म, चोली न्यूनतम मूल्य रु ३०० देखि रु एक हजार ५०० सम्म, पछ्यौरा रु एक हजारदेखि रु दुई हजार ५०० सम्म पर्छ।
यहाँ विगतका तिहारको समयमा पाल्पा जिल्लाबाहेक बाहिरी जिल्लाबाट कोसेलीका रुपमा ढाका कपडाबाट उत्पादित सामग्री खरिद गर्न आउने गर्थे भने अहिले स्थानीयवासीले मात्र खरिद गर्न आउने गरेको पाइएको छ।
यहाँको पुरानो र पहिलो ढाका व्यवसायी पूर्णमाया महर्जनले भने काठमाडौं, नारायणगढ, पोखरालगायत बजारमा नियमित व्यापारीलाई ढाका कपडाका सामग्री पठाएको जानकारी दिइन्।
पाल्पाली ढाका सङ्घका अध्यक्षसमेत रहनुभएकी महर्जनले गत वर्षको दसैँ तिहारमा भन्दा यस वर्ष व्यापार अहिले फस्टाएको बताइन्।
उनी भन्छिन्, ‘दाजुभाइ हुने दिदिबहिनीले विशेषगरी ढाकाको टोपी खरिद गर्नुहुन्छ, अघिल्लो वर्ष कोरोनाले गर्दा व्यापार भएन, यस वर्ष पनि कोरोनाको असर त छ, तैपनि व्यापारमा अलि चहलपहल बढ्दैछ।’ उनका पति गणेशमान महर्जनले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गरेका हुन्। अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ।
ढाका कपडा सुरुआतीका क्रममा त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाहरुबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो। अहिले जिल्लामा उद्योग थपिने क्रम जारी छ । पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन्। तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ। रासस











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
