Kathmandu Press

स्याफ्रुबेँसी–मैलुङ सडक सञ्चालन गर्न पहल

रसुवा, कात्तिक १७ : स्याफ्रुबेँसी–मैलुङ खण्ड सञ्चालन गर्न पहल भइरहेको छ। छोटो दूरीको उक्त मार्ग खोलेर रसुवागढी नाकाबाट आयात भएका मालसामान ढुवानी गर्न गृहकार्य...
स्याफ्रुबेँसी–मैलुङ सडक सञ्चालन गर्न पहल

रसुवा, कात्तिक १७ : स्याफ्रुबेँसी–मैलुङ खण्ड सञ्चालन गर्न पहल भइरहेको छ। छोटो दूरीको उक्त मार्ग खोलेर रसुवागढी नाकाबाट आयात भएका मालसामान ढुवानी गर्न गृहकार्य भइरहेको छ।

स्थानीय प्रशासनले नदी किनारको सडक सुधारको पहल सुरू गरेको छ। प्रमुख जिल्ला अधिकारी नवराज जैशीलगायत सुरक्षा निकायसमेतको टोलीले स्थलगत निरीक्षण गरी हिउँदयामभर नदी किनारको छोटो मार्ग तत्काल सञ्चालनमा ल्याउन जिम्मेवार निकायलाई आग्रह गरेको हो। नेपाल–चीनको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्न सडकखण्डमा  बगेको पानीलाई एकत्रित गर्ने, खाल्डाखुल्डी सम्याउने तथा सडक ग्राभेल गर्ने काम यथाशक्य छिटो गराउन सडक सुधार आयोजनालाई प्रजिअ जैशीले निर्देशन दिएका छन्। 

Hardik ivf

‘चाडपर्व सकिँनासाथ निर्देशन कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ,’ सहायक प्रजिअ दुर्गा थापाले भने। स्याफ्रुबेँसीबाट मैलुङसम्मको १७ किमी सडकको तत्काल सुधार गर्नुपर्ने देखिएको छ। गत असारको भारी वर्षाका कारण स्याफ्रुबेँसी–मैलुङ सडकखण्डमा क्षति पुगेको थियो। गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक विस्तार आयोजनाले सुधारका सबै काम स्थगन गरेपश्चात सवारीसाधन आवतजावत बन्द गरिएको थियो।

रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सहयोगमा वर्षायामको अवरोध दसैँअगावै हटाइ यातायात सञ्चालन सहज पार्न धुञ्चे पुछारको त्रिशूली खोलामा फलामे पुल निर्माण गरिएको छ। गल्छीबाट त्रिशूली, मैलुङ, स्याफ्रुबेँसीसम्म त्रिशूली तथा भोटेकोसीको किनारको सडक व्यवस्थित गर्न गत वर्षदेखि काम अगाडि बढाइएको हो। कोरोना सङ्क्रमण र बाढीपहिराका कारण उक्त सडकको काम अघि बढ्न नसकेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक सुधार आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: १०:४७ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्