Kathmandu Press

विश्व नेताहरुको शिखर सम्मेलन जारी, प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुँदै

ग्लास्गो, कात्तिक १६ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६( अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व...
विश्व नेताहरुको शिखर सम्मेलन जारी, प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुँदै

ग्लास्गो, कात्तिक १६ : जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६( अन्तर्गत नोभेम्भर १ मा सुरु भएको दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा नेताहरुले सम्बोधन गर्नेक्रम आज पनि जारी छ।

सोमबार विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए। मङ्गलबार राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको सम्बोधन सम्पन्न भएसँगै सम्मेलन समापन गरिने तालिका रहेको छ।

सम्मेलनमा विश्वका कूल ११७ देशका राष्ट्रप्रमुख र सरकार प्रमुखले सम्बोधन गर्ने तालिका रहेको छ। प्रधानमन्त्री देउवाले आज आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री देउवा पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो। आजै प्रधानमन्त्री देउवासँग श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नेछन्। यसैगरी संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नेछन्।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार राति संयुक्त अधिराज्य आएका थिए। अक्टोबर ३१ देखि बेलायतको ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ।

नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना छन्।

 

प्रकाशित मिति: १२:४८ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्