ट्रक ठोक्किँदा पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी, साउन २९ : ट्रक ठोक्किँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिएको छ। पुल भाँचिएपछि आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको ....

नवलपरासी, साउन २९ : ट्रक ठोक्किँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिएको छ। पुल भाँचिएपछि आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको छ।
आज बिहान ४ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नं.को ट्रक पुलमा ठोक्किँएको हो। एकातर्फ बारमा ठोक्किएपछि पुल भाँचिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पूर्व)का प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।
ट्रक ठोक्किँदा पुल करिब दुई मिटर तल लच्किएको छ। जसले गर्दा आवतजावत बन्द भएको छ। जोखिम हुनसक्ने भएकाले सवारीसाधान आवतजावत बन्द गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए।
ट्रक पुलमै अड्किएको छ। अहिले ट्रक निकाल्ने प्रयास भइरहेको छ। ट्रक निकाले पनि पुलमा ठूला सवारीसाधन आवतजावतमा समस्या हुने जनाएको छ।
पुलको दुवैतिर सयौं सवारीसाधान रोकिएका छन्। हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्।
तत्काल पुल मर्मत हुने सम्भावना छैन। जसले गर्दा चितवन प्रहरी र बुटवल प्रहरीलाई खबर गरी वैकल्पिक बाटोको प्रयोग गरी सवारी सञ्चालनका लागि जानकारी दिइएको प्रहरी निरीक्षक अधिकारीले बताए।

-1784896419.png)









