महाधिवेशनको तालिकामा अब कुनै पनि हालतमा हेरफेर हुँदैन : रामचन्द्र पौडेल

काठमाडौं, कात्तिक १५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पटक पार्टी महाधिवेशनको सार्वजनिक गरिएको समयतालिका नै अन्तिम रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यसपटक तोकिएकै मितिमा पार्टी महाधिवेशन हुने र अब महाधिवेशन कार्यतालिका कुनै पनि हालतमा हेरफेर नहुने बताए । उनले भने, “यसपटक तोकिएको महाधिवेशन तालिकामा कुनै किसिमको फेरबदल हुँदैन । मङ्सिर २४ देखि २६ मै महाधिवेशन हुन्छ ।”
कांग्रेसमाथि जनताको भरोसा बढेको उल्लेख गर्दै उहाँले कांग्रेसलाई जनताको थप भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दह्रिलो संवाहक बनाउन आफू लागि परेको बताए। वरिष्ठ नेता पौडेलले पार्टी सभापतिमा मधेसी समुदायबाट बने पनि फरक नपर्ने बताउँदै भने, “पार्टीको सभापतिमा टीका लगाएर दिने कुरा आउँदैन, सभापतिमा मधेसबाट नै बने फरक पर्दैन तर यसको निर्णय कार्यकर्तामा छोड्नुपर्दछ ।”
पार्टी नेतृत्वमा पुस्तान्तरणभन्दा रूपान्तरणको आवश्यकता भएको उल्लेख गर्दै उहाँले रूपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार राम्रो ल्याएर राष्ट्र हाँक्ने र प्रतिपक्षीसँग सामना गर्न सकिने नेतृत्व चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवा, महिला, मधेशी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको माग छ ।”
नेता पौडेलका अनुसार सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न सक्ने, राष्ट्रलाई हाँक्न सक्ने व्यक्तिलाई पार्टी सभापतिको जिम्मेवारी दिइनुपर्दछ । वरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सेटिङको आधारमा नभई संविधानको मर्म तथा विधि प्रक्रियाअनुसार नै प्रधानमन्त्री बनेको बताए । उनले वर्तमान अवस्थाको सरकार गठबन्धनको भए पनि आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने स्पष्ट पारे ।











