Kathmandu Press

प्रदेश १ मा नयाँ सरकार गठनकाे दाबीका लागि दिइयाे भाेलि १ बजेसम्मको समय

विराटनगर, कात्तिक १५ : प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मको समय दिइएको छ।मुख्यमन्त्री भीम आचार्यले आज...
प्रदेश १ मा नयाँ सरकार गठनकाे दाबीका लागि दिइयाे भाेलि १ बजेसम्मको समय

विराटनगर, कात्तिक १५ : प्रदेश १ मा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न मंगलबार १ बजेसम्मको समय दिइएको छ।

मुख्यमन्त्री भीम आचार्यले आज दिएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई मंगलबार १ बजेसम्मको समय दिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले जानकारी दिए।

प्रदेश १ मा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित विपक्षी गठबन्धनको स्पष्ट बहुमत छ। उनीहरूले नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन्।

मुख्यमन्त्रीमा दाबी गर्न एकीकृत समाजवादी संसदीय दलका नेतासमेत रहेको नेता राईको दाबीका लागि सांसदहरूको हस्ताक्षर संकलन जारी छ। सम्भव भएसम्म आजै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी रहेको जनाइएको छ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१ (सभामुखसहित), कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपाका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन्। तीमध्ये एमालेका एक सांसद किर्ते मुद्दामा परेपछि फरार छन्।

कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी ४९ सांसद छन्। बहुमत पुर्‍याउन ४७ सांसद भए पुग्छ। विपक्षी गठबन्धनसँग नयाँ सरकार बनाउन पर्याप्त संख्या छ।

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्