Kathmandu Press

संघर्ष गर्नु कम्युनिष्टको विशेषता : प्रचण्ड

काठमाडौं, कात्तिक १५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताएका...
संघर्ष गर्नु कम्युनिष्टको विशेषता : प्रचण्ड

काठमाडौं, कात्तिक १५ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताएका छन्।

पार्टीको कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेका छन्। हामीले राम्रो काम गरेर पनि जनतालाई बुझाउन नसकेको हो।’ उनले माओवादी प्रतिक्रियावादीको दयाले यहाँसम्म आइपुगेको नभइ जनताले साथ दिएर अहिलेको अवस्थामा आएको बताए।

उनले भने, ‘कम्युनिष्टले परसम्म जाने सपना देख्छन् त्यसकारण सपना देख्नु जायज हो।’ अध्यक्ष दाहालले राम्रो सपना देखेर पूरा गर्नका लागि सङ्घर्ष गर्नु कम्युनिष्टको चरित्र र विशेषता भएको बताए। उनले भने, ‘हामीले धेरै सपना देख्यौं। जनयुद्ध, शान्ति प्रक्रिया, संविधान गणतन्त्र यी सबै हामीले सपना देखेर पूरा भएका हुन्।’ आफूहरुले संविधानमा मतभेद राखेरै भए पनि जारी गरेको स्मरण गर्दै अनुकूल समयमा संविधान संशोधन गरेर जाने बताए।

उनले भने, ‘हामीले त कम्युनिष्टहरु जति सबैलाई एकताबद्ध गर्ने एउटा शक्तिशाली पार्टी बनाउने, त्यो पार्टीलाई सही दिशा र विचारमा लिएर जाने तथा सामाजिक न्यायसहित आर्थिक विकास र समृद्धिको नयाँ समाजवादी अर्थतन्त्र, राजनीति र संस्कृतिको जग बसाउने सपना देखेको हो ।’ उनले यस्तो सपना देख्नु नराम्रो नभएको बताए। त्यो सपना जायज भएको कार्यकर्ता र जनतामा आएको ऊर्जाले प्रमाणित गरेको अध्यक्ष दाहालको भनाइ थियो।

फरक प्रसङ्गमा उनले भने, ‘अहिले माओवादीमा प्रवेश गर्नेको लहर देखिन थालेको छ। पार्टीमा उभार आउन अझै बाँकी छ, त्यसका लागि जनता कार्यकर्ता जाग्नुपर्छ ।’ अहिले पनि नीति, नेता, कार्यक्रम र जनता माओवादीसँगै रहेको उनको भनाइ थियो। भूमिहीनलाई लालपूँर्जा दिने काम कीर्तिपुरबाट सुरु गर्न सम्बन्धित मन्त्रीलाई आवश्यक सुझाव दिएको अध्यक्ष दाहालले बताए।

 

प्रकाशित मिति: १३:२० बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्