Kathmandu Press

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, कात्तिक १५ : नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक अल्पकालीन ऋण...
एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, कात्तिक १५ : नेपाल राष्ट्र बैंकले एक अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो।

बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल सोमबार जारी गर्न लागेको हो। बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने टे«जरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ। यसअघि यही कात्तिक ८ मा बैंकले रु पाँच अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको थियो।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुने बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।

के हो ट्रेजरी बिल ?

मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो। बैंकले प्रमिशरी नोटको रूपमा सर्वप्रथम विसं २०१८ मा वार्षिक एक प्रतिशत ब्याजदरमा ७० लाख रुपैयाँ मूल्यमा ९० दिने टे«जरी बिल निष्काशन गरिएको थियो। बोलकबोल प्रक्रियाबाट २०४५ मङ्सिर १० देखि निष्काशन हुँदै आएको यो ऋणपत्र २०४८ पुसदेखि हरेक साता र २०७२ असारदेखि प्रविधिमा आधारित भई अनलाइनमार्फत नियमित जारी हुँदै आएको छ।

यस्तो ऋणपत्रलाई परिपक्व हुनुअगाडि रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिन्छ। सर्वसाधारणले यस्ता ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋणसमेत लिन सक्छन्। नेपालमा केन्द्रीय बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमका टे«जरी जारी गर्ने गर्दछ।

 

प्रकाशित मिति: १०:१२ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्