Kathmandu Press

राष्ट्रपति आज मनाङ जाँदै

काठमाडौं, कात्तिक १५ : राष्ट्रपति विद्यादेवी भण्डारी आन्तरिक भ्रमणमा व्यस्त भएकी छन्। राष्ट्रपति भण्डारी आज मनाङ जाने कार्यक्रम छ।अवलोकन भ्रमणका लागि उनी मनाङ...
राष्ट्रपति आज मनाङ जाँदै

काठमाडौं, कात्तिक १५ : राष्ट्रपति विद्यादेवी भण्डारी आन्तरिक भ्रमणमा व्यस्त भएकी छन्। राष्ट्रपति भण्डारी आज मनाङ जाने कार्यक्रम छ।अवलोकन भ्रमणका लागि उनी मनाङ जान लागेकी हुन्।

शनिबार राष्ट्रपति भण्डारी ढोरपाटन क्षेत्र र मुक्तिनाथ मन्दिर गएकी थिइन्। आइतबार लुम्बिनीमा आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी थिइन्।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौंबाट हेलिकोप्टरमार्फत मनाङ आउने जानकारी दिए।

‘मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नुहुने छ,’ उनले भने।

साथै गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।

जलवायु परिवर्तनका कारण हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ।

मनाङमा बाढीले ध्वस्त बनाएका यातायात, विद्युतलगायत संंरचनाहरूको पुनःनिर्माणका लागि जनप्रतिनिधिले प्रयास गरिरहेका छन्। बाढीका कारण केही समय यातायातबाट बिच्छेद भएको मनाङलाई अहिले आधारभूत मार्गले भने जोडिएको छ।

त्यस्तै ध्वस्त भएका संरचनाको पुनःनिर्माण गरी मनाङमा विद्युत् सेवा पनि पुनः सञ्चालनमा ल्याइएको छ। आज राष्ट्रपति भण्डारीले अवलोकन गर्ने स्याउ फार्म नेपालकै सबैभन्दा ठूलो फार्म हो। यो फार्म मनाङको ङिस्याङ गाउँपालिका वडा नं १ भ्राताङमा पर्छ।

मनाङको चामेबाट यो फार्म करिब तीन किलोमिटर टाढा पर्दछ। यस फार्ममा इटालीबाट बिरुवा ल्याएर गाला, फुजी, गोल्डेन लगायतका स्याउ उत्पादन हुँदै आएको छ।

गत आर्थिक वर्षमा उक्त फार्मबाट ४५० टन स्याउ उत्पादन भएको थियो। उक्त फार्म ७३५ रोपनी क्षेत्रफलमा छ र सो फार्मभरि स्याउ लगाइएको छ। मनाङको स्याउ स्वादिलो हुने भएकाले स्थानीय र बाह्य बजारमा पनि निकै लोकप्रिय रहिआएको छ। रासस

प्रकाशित मिति: ०९:२३ बजे, सोमबार, कात्तिक १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्